
बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले पार्टी विधिसम्मत तरिकाले चल्नुपर्ने बताउनुभएको छ ।
पार्टीले निर्माण गरेको विधि, पद्धति र सिद्धान्तमा पार्टी चल्न नसक्दा केही मतभेद देखिएको बताउनुभएको हो ।
बागलुङ क्षेत्र नम्बर २ का अगुवा कार्यकर्ता भेटका क्रममा नेता पौडेलले पार्टी र सरकारलाई जोड्ने देखि भारतसँगको वार्ता गरि समस्या हल गर्ने कुरामा पार्टी दुई अध्यक्षले तदारुपता देखाउनुपर्ने बताउनुभयो ।
यसअघि स्थायी कमिटीले दिएको प्रतिवेदनअनुसार पार्टी र सरकार चलाउने सहमति भएपनि पछिल्ला दिनहरुमा भएका केही कुराले गर्दा फेरि पार्टीलाई केही संकट परेका नेता पौडेलको भनाइ छ ।
‘७० वर्षसम्म विभिन्न साथीहरुको रगत पसिनाबाट बनेको पार्टीबाट हामी हुर्केका हौं,’ नेता पौडेलले भन्नुभयो, ‘इतिहासमा उहाँहरुले योग्दान नगरेको भए हामी हुँदैनथ्यो त्यसैले पद ठूलो कुरा होइन् ।’
पुष्पलाल र मदन भण्डारीलाई स्मरण गर्दै पौडेलले पार्टी भन्दा पद ठूलो कुरा नभएको स्पष्ट पार्नुभयो ।
पार्टी निर्माणमा पुराना नेताको योगदानका कारण अहिले दुइतिहाई जनमत प्राप्त भएकोले पदका लागि लुछाचुडी नगरि संविधानमा लेखेको समाजवाद उन्मुख राज्यप्रणालीमा रुपान्तरित हुन यही पार्टीको नेतृत्व आवश्यक रहेको पौडेलले औंल्याउनुभएको छ ।
सांसद भएदेखि नै बागलुङ पश्चिमको विकासको लागि निरन्तर प्रयत्न गरिरहेको भन्दै पौडेलले पश्चिम बागलुङमा मुख्य रुपमा मोटरवाटो, खानेपानी र आकाशे पुल पुरा गर्ने प्रतिवद्धताबाट पछि नहटेको बताउनुभयो ।
नेता पौडेलले बडिगाड गाउँपालिकाको सिसाखानी, तमानखोला गाउँपालिकाको बोङ्गादोभान, निसीखोला गाउँपालिकाको निसी र बडिगाडकै भीमगिठे, खालमा जन भेटघाट गर्नुभएको थियो ।
भेटघाटका क्रममा बागलुङ जिल्ला समन्वय समिति उपप्रमुख बिष्णु भुसालले पार्टीको मातहतबाट भएका कामको जनताले प्रचार गरि संगठनलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्