१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टिस्यु कल्चर प्रविधि झापामा केरा खेती, भारतबाट हुने आयात रोक्ने गरी उत्पादन गर्ने


0
Shares

झापा । अर्जुनधारा नगरपालिकाका कृषकले टिस्यु कल्चर प्रविधिबाट केरा खेती गर्ने भएका छन् ।

परम्परागत रुपमा खेती गर्दै यहाँका कृषकलाई केरा खेतीमा आत्मनिर्भर बनाउन प्रदेश–१ सरकारको सहयोगमा टिस्यु कल्चर प्रविधिबाट केराको विरुवा उत्पादनका लागि ल्याव समेत स्थापना गरिएको हो ।

एउटा स्वस्थ विरुवाको सेलबाट हजारौं विरुवा निकाल्न सकिने प्रविधि टिस्यु सेन्टर कल्चर प्रविधिबाट एपेक्स वायो टेक एण्ड एग्रो फरेष्ट्री रिसर्च सेन्टरले अर्जुनधारा नगरपालिकामा विरुवा उत्पादनको तयारी थालेको हो ।

केराको विरुवा उत्पादनका लागि प्रदेश सरकारसँग समन्वय गर्दै ८२ लाख रुपैयाँको लागतमा अर्जुनधारा नगरपालिका–३ मा उच्चस्तरीय ल्याव समेत स्थापना गरिएको छ ।

टिस्यु कल्चर प्रविधिबाट विरुवा उत्पादन गर्दा एकै पटक सामुहिक उत्पादन गर्न सकिने र किटाणुरहित विरुवा उत्पादन हुने बताइएको छ ।

पहिलो चरणमा रातो केराको विरुवा उत्पादन गर्दै कृषकलाई वितरण गरिने भएको छ । केराको विरुवा उत्पादन गर्दै व्यावसायिक केरा खेती सुरु गरेसँगै भारतबाट आयात हुने केरामा समेत कमी आउने अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा बताउनुहुन्छ ।

टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिने विरुवाको कोषलाई हुर्काउन ल्याबमै ६ महिनासम्म लाग्ने गरेको छ ।

वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै ३ महिनासम्म विरुवा हुर्काइन्छ ।

त्यसपछि उक्त विरुवालाई जहाँको माटोको लागि तयार गरिएको हो त्यही ठाउँमा ग्रिन हाउस निर्माण गरेर राखिएपछि झण्डै ३ महिना ग्रिन हाउसमा हुर्किएपछि मात्र यो विरुबा रोप्नका लागि तयार हुने गरेको छ ।

टिस्यु कल्चर प्रविधिबाट केरा खेती गर्न सुरु गरिएसँगै झापामा परम्परागत रुपमा गरिँदै आएको खेतीबाट भन्दा राम्रो आम्दानी लिन सकिने अपेक्षा गरिएको छ । भिडियो हेर्नुहोस्