२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोना सङ्क्रमणबाट झापामा आज थप तीनको मृत्यु


0
Shares

झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक एकजना पुरुष रहेका छन् ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

शनिवार मात्रै उपचारका लागि नोबेल पुर्‍याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै सङ्क्रमण पुष्टि आएको थियो ।

योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ ।

मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियो । केही दिनयता उहाँ होम आइसोलेसनमा बस्नुभएको थियो ।

योसँगै कमलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा मृत्यु भएको छ । कात्तिक १३ गते सङ्क्रमण पुष्टि भएको उहाँको घरैमा उपचाररत हुनुहुन्थ्यो ।

योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताउनुभयो ।

शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।