
राजविराज । मुलुककै सबैभन्दा पुरानो सप्तरीस्थित चन्द्र नहर अतिक्रमण तथा मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।
तात्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विक्रम सम्वत् १९८० मा निर्माण कार्य शुरु गरेको यस नहरले जिल्लाको कुल ११ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा उपलब्ध गराउँदै आएको थियो ।
तर नहरको मर्मत सम्भार नहुँदा एक दशकदेखि कुल क्षेत्र मध्ये आधा भागमा मात्र सिंचाइ हुने गरेको छ ।
बाढीका कारण विभिन्न ठाउँमा बर्षेनी नहर भत्किने गरेको तथा मर्मत सम्भारमै एक वर्ष लाग्ने गरेकाले नहरको कमाण्ड एरियासम्म पनि सिँचाई पुग्न सकेको छैन् ।
गत वर्षको बाढीले सुब्बाटोल, वुधेवा, महुली, गंगाजली, मैनाकडेरी, बढहरा लगायत आधा दर्जन स्थानमा नहर भत्किएको थियो ।
नहर मर्मतका लागि अहिलेसम्म ९ करोड बढी रकम खर्चिएको छ ।
तर अहिलेसम्म पनि मर्मतको कामले पूर्णता पाउन सकेको छैन ।
डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत सरकारी बजेट समाप्त पार्ने काम गरेपनि मर्मत सम्भार गुणस्तरीय गराउनमा ध्यान नदिदाँ आफुहरुलाई वर्षेनी सिंचाइ गर्न समस्या हुने गरेको किसानहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्