
काठमाडौं, कात्तिक १७ । संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुनुवाइ हुने भएको छ ।
संघीय संसद, संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते बिहीबार हुने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
सरकारले गत असोज १५ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि उहाँहरुको नाम समितिसमक्ष पठाएको थियो ।
समितिले प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्तालाई सार्वजनिक लिखित सूचना जारी गरी आमन्त्रण गरेकामा सोमबारको बैठकमा कुनै उजुरीकर्ता उपस्थित भएनन् ।
उजुरीकर्ताको नाम, नम्बर र वतन स्पष्ट नखुलेपछि समितिले १० दिने लिखित सूचना जारी गरी उजुरीकर्तालाई बोलाएको थियो ।
प्रस्तावित राजदूत डा. खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेका छन् ।
समितिको असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग उजुरी आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो ।
प्रस्तावित राजदूतत्रयसँग योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि उपयुक्त हो/होइन ठहर्याइ समितिले आवश्यक निर्णय लिनेछ ।
प्रस्तावित नाम अनुमोदन भएमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट उहाँहरुलाई राजदूत नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्