१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


ओलीले दाहाललाई के भनेका थिए ? यसो भन्छन् नारायणकाजी


0
Shares

ncp party president dispute

काठमाडौं, कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।

सोमबार बिहान आफ्नै निवासमा ‘न्यूज एजेन्सी नेपाल’सँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष दाहालले नै संवादका लागि पहल गर्नुपर्ने बताउनुभएको हो ।

आइतबार अध्यक्ष दाहालले प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ‘ब्रिफिङ’ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनैपनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको उहाँले बताउनुभयो ।

नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै समाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हामीले के भन्यौं भने हामीले ठूलो मेहनत गरेर पार्टी एकता गरेको हो । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक क्षेत्रमा विस्तारित गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने, सामाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने, समाजवादको अधार तयार पार्ने र अन्ततः समाजवादमा जाने उद्देश्यले पार्टी एकता गरिएको हो । त्यसैले, ख्याल-ख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न । हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ । त्यसकारणले अध्यक्ष प्रचण्डले फेरि एकचोटी अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस् । बैठक बसौं भनेर बैठक राख्ने नै प्रयत्न गरौं । बैठक राखेर सबै पाटापक्षमा छलफल गरौं । खुला ढंगले छलफल गरौं र पार्टी एकताको निम्ति प्रयत्न जारी राखौं । पार्टी एकता कायम गर्नैपर्छ त्यसको निम्ति पहल गरौं भनेर हामीले भनेका हौं । त्यसपछाडि उहाँहरुको कुराकानी भएको स्थिति छैन ।’

प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरुसँग भएको ब्रिफिङपछि अहिलेसम्म अध्यक्ष दाहाल र ओलीबीच कुनै संवाद हुन नसकेको पनि बताउनुभयो ।

आइतबार साँझको ब्रिफिङमा अध्यक्ष दाहालले दुई अध्यक्षबीचको संवादमा अध्यक्ष ओलीले अब कुनैपनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिकरुपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राख्नुभएको बताउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न सञ्चारमाध्यमहरुमा आएजस्तो प्रधानमन्त्री ओलीले अबसँगै अगाडि बढ्न नसक्ने भनी दिनुभएको अभिव्यक्ति साँचो रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले अध्यक्ष ओलीले अध्यक्ष दाहाललाई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलग–अलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अध्यक्ष प्रचण्डले हामीलाई जानकारी दिनुभएअनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘बैठकको केही काम छैन, बैठक बसेर के गर्ने ?’ भनेर भन्नुभयो र बैठक बस्न अस्वीकार गर्नुभयो भनेर सुनाउनुभयो । ‘बैठक किन बस्न काम छैन भन्दा बैठकको निर्णय त मान्दै मान्दिनँ । तपाइँहरुले बहुमतले निर्णय गरेर हुन्छ ? केन्द्रीय कमिटीबाट निर्णय गर्नोस्, स्थायी कमिटीबाट निर्णय गर्नोस्, सचिवालयको निर्णय गर्नोस् । तर, बहुमतले गरेको निर्णय म मान्दिनँ भनेपछि तपाइँहरुले बैठक गरेर के गर्नुहुन्छ ? यति भन्दा–भन्दै पनि तपाइँहरुले आफ्नैतर्फबाट बैठक बोलाउनुभयो भने बैठक बोलाउना साथै म ठूलो अर्को एक्सन लिन्छु, त्यसको सामना गर्न तपाइँहरु तयार हुनुहोस् । अथवा, सल्लाह गरेर अलग–अलग होऔं । अब एकैठाउँ बस्न सकिन्न’ भनेर भन्नुभएको कुरा हामीलाई जानकारी गराउनुभएको थियो ।’

प्रवक्ता श्रेष्ठले पार्टी एकता ठूलो मेहनत गरेर र क्रान्तिकारी उद्देश्यलाई केन्द्रविन्दुमा राखेर गरिएकाले यसलाई अहिले नै विफल हुन र फुटको स्थिति उत्पन्न हुन नदिन सबै नेता–कार्यकर्ताले पहल गर्नुपर्ने बताउनुभयो ।

पार्टी एकता कायम गर्नको निम्ति पार्टीलाई विधि र पद्धतिमा चलाउने र पार्टीको निर्णय सबैले मान्दै कार्यान्वयनमा जाने हो भने पार्टी एकता जोगिने पनि उहाँले बताउनुभयो ।

पार्टीभित्र अहिले औपचारिकरुपमा वैचारिक, सैद्धान्तिक राजनीतिक बहस सुरु भइनसकेको अवस्थामा सबैले पार्टीको निर्णय मान्नुपर्नेमा जोड दिनुभयो ।

सबैले आ–आफ्नो पक्षबाट आत्मालोचना गर्दै पार्टीको निर्णय मान्ने र कार्यान्वयनमा गए पार्टी एकता बलियो हुनेपनि उहाँले बताउनुभयो ।