
काठमाडौं, कात्तिक १७ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलले कर्णाली प्रदेशमा देखिएका समस्याबारे अध्यक्षद्वयको धारणा माग गर्नुभएको छ ।
पार्टीको प्रदेश सहइन्चार्जसमेत रहनुभएका कँडेलले सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पत्र लेखी कर्णाली प्रदेशबाट नेकपाले कस्तो प्रचलन बसाउन खोजेको हो ? भन्ने प्रश्न गर्नुभएको छ ।
गएको असोज २५ गते नेकपाको कर्णाली प्रदेशसभाका सांसदमध्ये १८ जनाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रमुख सचेतक गुलाबजंग शाहलाई अविश्वास प्रस्ताव बुझाएका थिए ।
त्यसपछि प्रमुख सचेतक शाहले असोज २७ गते बैठक आह्वान गरेपछि संसदीय दलको नेताले बैठकमा उपस्थित भएर प्रदेशसभा सदस्यको विश्वास जित्ने प्रयास गर्नुको सट्टा प्रमुख सचेतक हटाएको भन्दै कँडेलले यस्ता अनधिकृत काम गरेर नेकपाले कस्तो प्रचनल बसाउन खोजेको ? भन्दै अध्यक्षद्वयको धारणा माग्नुभएको हो ।
अविश्वासको प्रस्तावमा उल्लेख भएका विषयमा प्रदेशस्तरमा छलफलै नगरी पद र प्रतिष्ठा वितरण गरिएको भन्दै कँडेलले नेकपा यस्तै संस्कारको पक्षमा हो ? भनी अध्यक्षद्वयलाई प्रश्न गर्नुभएको छ ।
नेकपामा गुट–उपगुट अन्त्य गर्ने भनेपनि विषयका आधारमा एक ठाउँमा उभिएका सांसदलाई केन्द्रबाटै हस्तक्षेप र हतोत्साहित गर्ने काम भएको कँडेलको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्