२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


टेकु अस्पतालले धरौटी नलिने


0
Shares

काठमाडौं, कात्तिक १७ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोनाभाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकमसम्बन्धी पूर्वसूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शय्या र काउन्टरमा पत्राचार गरिएको बताउनुभयो ।

यसअघि, अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्दा रु २० देखि ५० हजारसम्म धरौटी राख्नुपर्ने बताएको थियो ।

अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार नै शुल्क तिर्नसक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीले निःशुल्क उपचार गर्ने नीति लिइएको उल्लेख गरेको छ ।

उहाँले अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना, अस्पतालमा निःशुल्करुपमा उपलब्ध औषधि तथा प्रयोगशाला र अन्य उपलब्ध परीक्षणहरु निःशुल्करुपमा व्यवस्था गरिँदै आएकोसमेत जानकारी दिनुभयो ।

सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अतिअपांगता, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत् कर्मचारीका मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको हो ।

अस्पतालका निर्देशक डा. राजभण्डारीले विनाशुल्क कोभिड–१९ का संक्रमितको उपचार नै नगरिने भन्ने दुष्प्रचार र भ्रमबाट मुक्त हुँदै आवश्यक परेका बेला अस्पतालले निःशुल्करुपमा संक्रमितको उपचार गर्नेसमेत बताउनुभयो ।