
काठमाडौं, कात्तिक १७ । सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ ।
सरकारी अस्पतालले निःशुल्करुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सो मुद्दा दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
सर्वोच्च अदालत प्रशासनले सोमबार दर्ता गरेको मन्त्री ढकालविरुद्ध उक्त मुद्दामा एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना माग गरिएको छ ।
न्याय प्रशासन ऐनअनुसार अवहेलना ठहर भएमा एक वर्ष कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
सर्वोच्च अदालतले गत असोज २७ गते निःशुल्करुपमा कोरोना परीक्षण गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।
सरकारले अदालतको आदेशअनुसार निःशुल्क कोरोनाको परीक्षण गर्दै आएको थियो । तर, यही कात्तिक २ गतेदेखि गरिब तथा असहायलाई सरकारले निःशुल्क उपचार गर्ने, बाँकीका लागि सबैले पैसा तिरेर उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।
सोही निर्णयविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको हो । उक्त मुद्दाको सुनुवाइ मंगलबार तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्