२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


प्रधानाध्यापकको शव फेला, हत्याको आशंका, राजमार्ग अवरुद्ध


0
Shares

बैतडी, कात्तिक १८ । बैतडीको डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत अवस्थामा फेला पर्नुभएको छ ।

४५ वर्षीय उहाँको शव दार्चुलाको शैल्यशिखर नगरपालिका–९, शिवपुरी धामनजिक फेला परेको हो ।

मृतकको शरीरमा नीलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउदले जानकारी दिनुभयो ।

मृतकको साथमा नगद ८५ हजार रुपैयाँसमेत भेटिएको छ ।

‘प्रधानाध्यापक घरडी सोमबार तलब बुझ्न भनी गोकुलेश्वर आएका बुझिएको छ । प्रहरीले अनुसन्धान गर्दैछ’–प्रहरी निरीक्षक साउदले भन्नुभयो ।

घरडीसँगै अरु चारजना शिक्षक पनि तलब बुझ्न आएका भएपनि उनीहरु सोमबार नै घर फर्किएका बताइएको छ ।

घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे शव फेलापरेको हो ।

मृतकको शरीरमा नीलडाम र घाउ रहेकोले हत्या गरेर फालेको हुनसक्ने आफन्तको आशंका छ ।

राजमार्ग अवरुद्ध
मंगलबार मृतकका आफन्तले महाकाली राजमार्ग अवरुद्ध गरेका छन् ।

घटनाको सत्यतथ्य छानबिनको माग गर्दै उनीहरुले गोकुलेश्वरमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका हुन् ।

उनीहरुले सत्यतथ्य छानबिन र दोषीलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।