
काठमाडौं, कात्तिक १८ । कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहजरुपमा फर्किन सकेको छैन ।
अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउनुपर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन् ।
टोकियो ओलम्पिक लक्ष्य राखेका कराँते खेलाडी सातदोबाटोस्थित कभर्डहलमा लयमा फर्किन निकै मिहिनेत गरिरहेका छन् ।
नौ महिनादेखि कोरोनाले थला पारेको खेलकुद चलायमान गराउनुपर्ने चौतर्फी दबाब आएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सीमित खेलाडीलाई मापदन्ड पूरा गरेर अभ्यास थाल्न अनौपचारिक निर्देशन दिइसकेको छ ।
यसैमध्येका कराँते खेलाडीले २०२१ मा हुने टोकियो ओलम्पिकका लागि तयारी थालेका छन् ।
घर बसाइँ पट्यारलाग्दो भइसकेको र अभ्यासले आफूलाई उत्साह मिलेको बताउनुहुन्छ, कराँते खेलाडी अनु अधिकारी ।
अधिकारीले खेलाडीलाई घर बसाइँले ‘फिटनेस’मा असन्तुलन देखिने भएकाले राष्ट्रिय खेलकुद परिषद्मार्फत् खेलाडीलाई अभ्यासको वातावरण मिलाइदिनसमेत आग्रह गर्नुभयो ।
यस्तै, नेपालको पुरुष टोलीबाट टोकियो ओलम्पिकमा प्रतिनिधित्व गर्ने लक्ष्य राखेका नविन रसाइली पनि अभ्यासमा फर्किन पाउँदा दंग देखिनुहुन्छ ।
मुख्य प्रशिक्षक दीपक श्रेष्ठले कोरोनालाई बाहना बनाएर खेलकुद गतिविधि रोक्न नहुने तर्क राख्दै आउनुभएको छ ।
खेलाडीलाई घरमा नै थुनेर राख्नेभन्दा पनि ‘कन्ट्याक्ट’ खेलका लागि अन्तर्राष्ट्रियस्तरमा अन्य देशले अवलम्बन गरेको विधि अपनाएर नेपाली खेलाडीलाई अभ्यासमा उतार्नुपर्ने समय आएको उहाँको भनाइ छ ।
नेपाली खेलाडीलाई टोकियो ओलम्पिक ‘र्याङकिङ’का आधारमा त्यति सहज छैन ।
नेपाली खेलकुदको सर्वोच्च निकायले ओलम्पिक सहभागिता जनाउने सीमित खेलाडीलाई उचित वातावरण मिलाएर अवसर प्रदान गरे खेलाडीले बोकेको लक्ष्य भेट्टाउन सक्ने आशा खेलजगतको छ ।
प्रतिक्रिया दिनुहोस्