
काठमाडौं, कात्तिक १८ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तारलगायतका कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ ।
उपत्यकालगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जाम कम गर्न गुणस्तरीय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्जाल विस्तारलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने उहाँले बताउनुभयो ।
मंगलबार गृह मन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्री थापाले ट्राफिक व्यवस्थापनका लागि सरकारले ऐन निर्माणको कामलाई पनि तदारुकताका साथ अगाडि बढाउने बताउनुभयो ।
आगामी वर्षबाट ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई पनि सरकारले ध्यान दिने उहाँले बताउनुभयो ।
कडा कानुनको आवश्यकता : प्रहरी महानिरीक्षक
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ट्राफिक नियम थाहा भएरपनि पालना नगर्नेहरुका लागि कडा कानुनको आवश्यकता रहेको बताउनुभयो ।
ट्राफिक नियम जानी–जानी उल्लंघन गर्नेहरुमाथि हुने जरिवाना रकम बढाउनुपर्ने उल्लेख गर्दै उहाँले लाइसेन्स वितरणमा पनि कडाइ गर्नुपर्ने बताउनुभयो ।
लाइसेन्स वितरण गर्दा थोरै लापरबाही भएपनि सवारीहरु सडकमा हतियारको रुपमा प्रयोग हुनसक्ने चेतावनी उहाँले दिनुभयो ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७ प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्