१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेकपामा स्वार्थ र दोषारोपणको राजनीति


0
Shares

kp oli prachanda

काठमाडौं, कात्तिक १८ । नेकपाभित्रको वर्तमान विवादमा न त देखिनेगरी ठूलो अन्तरविरोध छ, न त पार्टीभित्र सैद्धान्तिक मतभेद ।

केन्द्रदेखि स्थानीय तहसम्म सरकारको नेतृत्व र संवैधानिक अंगहरुमा रजाइँ गरिरहेको नेकपाभित्र न त सत्ता अभाव छ, न त लाभ र सुविधाको खडेरी ।

तर पनि नेकपा पार्टी फुट र विभाजनको रोगले बारम्बार प्रताडित त छ नै सत्ता लुछाचुँडीको खेलले जग हँसाइ पनि गरिरहेको छ ।

जनजीविकाको समावलमा केन्द्रित हुनुपर्नेमा लोकलाज पचाएर यतिबेला नेताहरु भने गुटगत आरोप–प्रत्यारोपमै रमाइरहेका छन् ।

नेकपाभित्र चुलिएको पछिल्लो अन्तरविरोधको समाधानमा स्थायी कमिटी बैठकले सहमतिको प्रतिवेदन र अन्तरपार्टी निर्देशिका जारी गरी असोज मसान्तभित्र एकताको काम सक्न निर्देशन दियो भने असोजभित्रै एकताको काम सक्ने सचिवालयको निष्कर्ष केवल निर्णयमै सीमित रह्यो ।

त्यस्तै, पार्टी विधानबमोजिम छ महिनाभित्र बोलाउनुपर्ने केन्द्रीय समितिको बैठक कात्तिक १५ गते तय गरिएपनि कारणबिनै एक महिनापछि धकेलियो ।

स्थायी समिति बैठकको निर्णय पार्टी एकताका लागि ‘सञ्जीवनी बुटी’ ठानिएको भएपनि तिनलाई तिलाञ्जलि दिँदै नेकपाका नेताहरु फेरि लोकलाज पचाएर आन्तरिक कलहको तान्डव नै देखाइरहेका छन् ।

छुट्टा–छुट्टै छलफलमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीमा फेरि विभाजनको खतरा बढेको ‘ब्रिफिङ’ गर्दै एकले अर्को पक्षको काँधमा दोषारोपण गरेका थिए ।

समन्वयकारी भूमिका खेल्नुपर्ने अवसरलाई भने दोस्रो तहका नेताहरुले पनि एक–अर्काप्रति गुटगत आरोप–प्रत्यारोप लगाउँदै रमाइरहेका छन् । पार्टी फुट्न लाग्यो भनी हारगुहार पनि उनीहरुले नै गरिरहेका छन् ।

नेकपाभित्रको स्वार्थले राज्यप्रणालीलाई बन्धक त बनाएकै छ, एक–अर्कालाई खुइल्याउने नेताहरुका दोषारोपणले पार्टी नै उदांगिएको छ ।

नेकपा बैठकका निर्णहरु नै अब पार्टी कार्यकर्ता र सर्वसाधारणका लागि हास्यास्पद भइरहेका छन् ।

माघमा बसेको केन्द्रीय कमिटीका निष्कर्षहरूमात्र होइन, भदौ २६ गते सकिएको स्थायी कमिटी बैठककै निर्णयसमेत कार्यान्वयन हुन सकेको छैन ।

अघिल्लो मंसिर १ गतेदेखि पार्टी एकताको बाँकी काम अघि बढ्न सकेको छैन । नेतृत्वले नै निर्णय कार्यान्वयनमा रुचि नदेखाएकाले बैठकको औचित्यमै पनि आशंका उब्जिएका छन् ।

हुँदा–हुँदा बालुवाटारले बैठकको औचित्य नै समाप्त भएको बताइरहेको छ भने खुमलटारले अध्यक्ष ओलीबाट पार्टी विभाजन हुने भयो भन्दै गुहार मागिरहेको छ ।

यसअघि, दल विभाजनसम्बन्धी ल्याइएको अध्यादेशपछि र आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको ओलीको अभिव्यक्तिपछि अकासिएको विवादले नेकपा फुटको संघारमा पुगेर फर्किएको थियो भने पुरानो विवाद नदोहोर्‍याउने भन्दै चैतमा महाधिवेशन गर्ने स्थायी कमिटी निर्णयको एउटा बुँदा पनि कार्यान्वयन नहुँदै उक्त पार्टीमा अर्को तान्डव सुरु भएको हो ।

तर, नागरिक जीवन अस्तव्यस्त भएका बेला सरकारको नेतृत्वमा रहेको नेकपाभित्र फेरि मुख्य नेताहरूबीचको शक्तिसंघर्ष केवल पदप्राप्तिका लागि रहेछ भन्नेकुरा प्रष्ट भएको छ ।

भिडियो हेर्नुहोस्