२४ चैत्र २०८१, आइतबार | Sun Apr 6 2025


चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा


0
Shares

काठमाडौं, कात्तिक १८ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गएको बिहीबारबाट पुनः सुचारु भएको छ । तर, चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा परेका छन् ।

चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकोले व्यवसायीहरु चिन्तित देखिन्छन् ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण नयाँ मापदन्ड तयार गरी तातोपानी नाका खोलिएको छ ।

नयाँ मापदन्डअनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनियाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ । एक चिनियाँ कन्टेनर सामानले नेपालतर्फको दुईदेखि तीन कन्टेनर सामान भरिन्छ ।

यदि, पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक ५० भन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन् । तर, नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनरमात्रै समान आएको थियो ।

चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै सामग्री पठाउँदा आफूहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताउनुभयो ।

समान ढिलो आउँदा स्याउलगायतका खाद्यसामग्री कुहिन थालेकोले नाकालाई निरन्तर खुला गर्नुपर्ने उहाँले बताउनुभयो ।

नाकालाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने अथवा पूर्णरुपमा बन्द गरेर समुद्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीहरुले माग गरेका छन् ।

भन्सार नाका पूर्णरुपमा सञ्चालनमा नआउँदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल–चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताउनुभयो ।

अहिलेसम्म स्याउ र केही रेडीमेड कपडामात्रै अएको छ । यही गतिमा सामान आउने हो भने अहिले व्यापारीहरुले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्नसक्ने तातोपानी भन्सार सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।