१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा विदेशी पर्यटक आउन थाले


0
Shares

काठमाडौं । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका हुन् ।

अध्यागमन विभागका अनुसार गत साउनसम्म न्यून रहेको विदेशी नागरिकको आवागमन भदौपछि बढ्दै गएको छ ।

असोजमा पनि यस्तो संख्यामा वृद्धि भएको विभागले जनाएको छ । सरकारले अक्टोवर १७ पछि पर्यटन विभाग र ट्राभल व्यवसायीको सिफारिसमा अनअराइभल भिसाको अनुमति दिएसँगै विदेशी पर्यटक आवागमनले गति लिएको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

सरकारले पर्वतारोहण र पदयात्राका लागि १७ अक्टोवरबाट नेपाल खुला भएको घोषणा गरेको हो ।

पर्यटकले ५ लाख डलरको कोरोना बिमा गरी नेपालमा पदयात्रा वा पर्वतारोहण गर्ने दिनको तालिका, पर्वतारोहण तथा पदयात्रा गर्न पाउने अनुमतिसहित प्रस्तावमा मागेमा अनअराइभल भिसा उपलब्ध गराउन थालेको हो ।

त्यसअघि भने विदेशी कुटनीतिक नियोगका कर्मचारी, विकास साझेदार संघ संस्थाका प्रतिनिधि तथा कर्मचारी र उनीहरुको परिवारलाई मात्र अनुमति थियो ।

नेपालमा विभिन्न प्रयोजनका लागि दूतावासको सिफारिसमा आउने विदेशीको आगमन पनि बढ्दै गएको छ । विभागका अनुसार साउन २०७७ मा १३७ जना विदेशी नेपाल आएका थिए ।

सोही महिना २२ हजार ९ सय ३२ जना नेपाली घर फर्किएका थिए । भदौ महिनामा विदेशीको आगमन बढेर ४ सय ११ पुग्यो ।

यो महिनामा नेपालीको आगमन भने १५ हजार ८ सय २२ थियो । असोज महिनामा विदेशी पर्यटकको आगमन ११ सय ९१ पुगेको छ ।

यो संख्या चैतयताकै सबैभन्दा बढी हो । असोजमा नेपालीको आगमन भने ४६ हजार ४८ जना थियो । कात्तिक महिनामा विदेशी पर्यटकको आगमन अझ बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् ।