१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेती प्रादेशिक अस्पतालको शवगृह लथालिङ्ग, शव बुझ्न जाँदा नाँक-मुख थुन्नुपर्ने बाध्यता


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्रै सुविधा सम्पन अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालको शवगृह व्यवस्थित नहुँदा नागरिकलाई सास्ती भएको छ ।

शवगृहमा बढीमा आठ वटा शव मात्र राख्न सक्ने क्षमता रहेको भएपनि गर्मी याममा शवलाई व्यवस्थापन गर्ने कुनै पनि पुर्वाधार नहुँदा शव गन्हाउने र नजिकै रहेको बस्तीमासमेत दुर्गन्ध फैलिने समस्या रहेको छ ।

प्रदेशका नौ जिल्लाको प्रतिनिधित्व गर्ने सेती प्रादेशिक अस्पतालमा भएको शवगृह निकै जीर्ण भएकोले व्यावस्थित गर्न पनि आवश्यक छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयसँग जोडिएको शवगृहको अवस्थाले प्रदेश सरकारलाई गिज्याइ रहेको स्थानीय बताउँछन् ।

शवगृहमा आफन्तको शव बुझ्न जाँदा नाक मुख थुनेर जानुपर्ने बाध्यता रहेको छ ।

फोहोरको उचित व्यवस्थापन नहुँदा शवगृहनजिकै विभिन्न रोगको खतरा बढ्न सक्ने भएकाले प्रदेश सरकारले यसतर्फ ध्यान दिन आवश्यक भएको स्थानीयको भनाइ छ ।

शवगृहमा शवलाई व्यवस्थापन गर्ने साधनहरु नहुँदा काम गर्न निकै समस्या हुने गरेको शवगृहको सरसफाइको काम गर्ने चन्द बहादुर विकको गुनासो छ ।

धेरै दिनसम्म लास राख्नु पर्दा त्यसलाई गन्हाउन नदिने आइसको व्यवस्थापन भएपछि केही सहज हुने भएपनि त्यसको पनि व्यवस्था नभएको विकको भनाइ छ ।

सेती प्रादेशिक अस्पतालको शवगृह पुरानो र जीर्र्ण भएकोले आधुनिक शवगृह निर्माणका लागि आफुहरुले पहल गरिरहेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ड डा.हेमराज पाण्डेको भनाइ छ ।

शवगृहमा शव व्यवस्थापनका लागि चाहिने उपकरणसमेत राख्ने ठाँउ नहुँदा पोष्टमाटम गर्न निकै सास्ती हुने गरेको डा.पाण्डे बताउनुहुन्छ ।

प्रदेशको एक मात्र रेफरल अस्पतालमा आधुनिक शवगृह नहुनु लाजमर्दो कुरा हो ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा करोडौं लगानी गरेको दावी गरेपनि एउटा व्यवस्थित शवगृह नहुँदा नागरिकले व्योहोर्नु परेको दुखले सरकारको खिल्ली उडाएको छ ।