१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तिहारको मुखैमा लाखौं नेपाली श्रमिक भारत फर्किए


0
Shares

काठमाडौं । नेपालमा रोजगारी ग्यारेन्टी नभएपछि तिहारै नमानी लाखौ नेपाली रोजगारीका लागि भारत फर्किएका छन् ।

कोरोना भाइरसको महामारी बढेसँगै ७ महिनाअघि नेपाल फर्किएका नेपालीलाई दैनिकी गुजारा गर्न कठिन भएपछि भारत फर्कन थालेका हुन् ।

सरकारले स्वदेशमा रोजगारीका लागि कुनै पहल गर्न नसक्दा कोरोनाको जोखिम मोलेर नेपाली भारत जान बाध्य भएका हुन् ।

भारतमा रोजगारीका लागि कति नेपाली जान्छन् भन्ने तथ्यांक वैदेशिक रोजगार विभाग र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागसँग छैन ।

खाडी मुलुकको तुलनामा भारतमा रोजगारी गर्ने नेपालीको संख्या बढी भएपनि उनीहरुको सुरक्षामा सरकारले ध्यान दिन नसकेपछि नाकाबाट दैनिक हजारौं श्रमिक भारत गइरहेका छन् ।

सरकारले स्वदेशमा नै रोजगारी गुमाएका नेपालीका लागि रोजगारीका कार्यक्रम ल्याउन नसकिरहेका बेला उनीहरु कर्मभूमि फर्किएका हुन् ।

भारतमा १५ लाख नेपालीले रोजगारी गरिहेको अनौपचारिक तथ्यांक भएपनि उनीहरुको सामाजिक सुरक्षामा सरकार ध्यान दिन सकेको छैन ।

सरकारले भारतमा कार्यरत श्रमिकलाई सरकारी तथ्यांकमा समावेश गर्न नसक्दा कति नेपाली कारोना संकटमा भारत गए भन्नेसमेत जानकारी छैन ।

अन्य श्रम गन्तव्यको तुलनामा ठूलो रोजगारी र व्यवसायका लागि नेपाली भारत जाने भएपनि उनीहरूको सुरक्षाका लागि कुनै निकाय सरकारी समयन्त्र बन्न सकेको छैन ।

आवतजावतका लागि दुवै देशका नागरिकलाई रोकतोक नगरिएको र श्रम स्वीकृतिको समेत व्यवस्था नहुँदा रोजगारीमा जानेको अनुगमन गर्न नसकिएको हो ।

भारत जाने नेपाली श्रमिकको संख्या धेरै भएका कारण त्यहाँबाट आउने पैसा पनि धेरै हुने गरेको छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको तथ्यांकमा भारतबाट आउने पैसा अन्य श्रम गन्तव्यको तुलनामा धेरै हुने गरेको छ ।