२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


मेयर शाक्यले भने–‘खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई व्यवस्थित गर्नोस्’


0
Shares

काठमाडौं, कात्तिक १९ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ ।

कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदन्डसमेत पूरा नगरी खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान जारी रहेको भन्दै व्यवस्थित गर्न महानगरले आग्रह गरेको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बढी भिडभाड हुने र सर्वाजनिकस्थलमा अस्वस्थ, असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कामलाई व्यवस्थित गर्न र विकल्प खोज्न आग्रह गर्नुभयो ।

शाक्यले सरकार जनताप्रति उत्तरदायी रहेको उल्लेख गर्दै स्वास्थ्य जोखिमकोसमेत ख्याल गरी खाना खुवाउन आग्रह गर्नुभयो ।

श्रम गर्न सक्नेहरुले श्रम गरेर र नसक्नेहरुको व्यवस्थापन गर्न महानगरले सहयोग गर्ने उहाँले बताउनुभयो ।

महानगरपालिकाले सुरुदेखि नै काम गर्न सक्नेहरुलाई काम दिएको उल्लेख गर्दै उहाँले नसक्नेहरुको हकमा व्यवस्थापनका लागि महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

सक्नेहरुलेसमेत काम नगरी खाने प्रवृत्ति रहेमा भोलि पनि समस्या हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘काम नगरी खाने प्रवृत्ति भयो भने भोलि श्रम गरेर खान भन्दा पनि उनीहरुले गर्दैनन् । बानी बिग्रिन्छ । त्यसैले सक्नेले काम गर भन्ने महानगरको धारणा हो । नसक्नेलाई व्यवस्थापन गर्छौं ।’

एकै ठाउँमा भिडभाड गरेर खाना खुवाउनुभन्दा जो–जुन ठाउँमा छ, त्यही ठाउँमा खुवाउने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

महानगरपालिकाले व्यवस्थापनका लागि पार्टी प्यालेस भाडामा लिएर अभियन्ताहरुलाई दिनसक्ने उहाँले बताउनुभयो ।

‘लकडाउन’ अविधिभर महानगरपालिकाले ३२ ओटै वडाहरुमार्फत् ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको महानगरले जनाएको छ ।

लकडाउन अवधिमा एक लाख ५० हजार बढी परिवारलाई राहत वितरण र दुई लाख ५० हजार बढीलाई खाना खुवाउने काम गरेको उहाँले बताउनुभयो ।

श्रम गर्न सक्नेहरुलाई वडा कार्यालयहरुबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत–सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षणजस्ता काममा लगाउने गरेको महानगरले जनाएको छ ।

एक हप्तामा कम्तीमा दुई दिन तोकिएको पारिश्रमिक दिएर प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत् रोजगारी पनि सिर्जना गर्ने काम गरेको उहाँले बताउनुभयो ।