
वासिङ्टन, कात्तिक १९ । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ ।
चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ ।
तर, राष्ट्रपतिका दुवै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गर्नुभएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गर्नुभएको छ ।
करोडौं मतगणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गर्नुभएको छ ।
उहाँले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जानेपनि बताउनुभयो ।
उहाँले भन्नुभएको छ–‘साँच्चिकै भन्नुपर्दा चुनाव हामीले जितिसक्यौं । चुनावमा धाँधली भएको पाइएको छ र यो हाम्रो मुलुकका लागि निकै दुःखद् पक्ष हो ।’
उहाँले आफूले चुनावी नतिजाको विषयलाई लिएर सर्वोच्च अदालतमा चुनौती दिनेपनि बताउनुभयो ।
उहाँले चुनावमा सहयोग गर्ने परिवारका सदस्य तथा मतदानमा भाग लिने जनता सबैलाई धन्यवाद दिनुभयो ।
राष्ट्रपति ट्रम्पले चुनावमा आफू विजयी भइसकेको भनी गर्नुभएको दाबीलाई रिपब्लिकन पार्टीकै कतिपय वरिष्ट सदस्यहरुले अपरिपक्व भनाइ भन्दै ट्वीट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्