
काठमाडौं, कात्तिक १९ । भारतीय सेनापति मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणलाई औपचारिक सद्भावनाको भ्रमण भनिएपनि वर्तमान परिवेश र पृष्ठभूमिमा भएको भ्रमणलाई भूराजनीतिक अर्थ र अनुमान अनेक कोणबाट लगाइएको छ ।
नेपालले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि दुई देशबीचको संवाद र सम्बन्ध सहज हुन नसकिरहेका बेला भारतका उच्च सैनिक अधिकारीको यो भ्रमणलाई परम्पराको नियमित निरन्तरताको रुपमा मात्र नहेरेर सेनापतिले भारतीय संस्थापनको महत्वपूर्ण सन्देश बोकेर काठमाडौं आएकोे अनुमान राजनीतिक र कूटनीतिक वृत्तमा गरिएको छ ।
नेपाल–भारतका सेनापति एक–अर्का देशमा जाने र मानार्थ महारथीको सम्मान ग्रहण गर्ने परम्परागत अभ्यास रहिआएको छ ।
नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतका तर्फबाट सम्मान ग्रहण गरिसकेको भएपनि नेपालको निम्तामा भ्रमण स्थगित गर्दै आएको भारतीय पक्षले कोरोना कहरकैबीच सेनाध्यक्षको भ्रमण हुनुलार्ई विशेष चासोका साथ हेरिएको छ ।
सीमा समस्याका सवालमा कूटनीतिक संवादका लागि राजनीतिक संयन्त्रबाट भएका अनेकन प्रस्तावलाई भारतले अटेर गर्दै आएको थियो ।
संवाद शून्यताको परिवेशमा सैनिक क्षेत्रबाट भएको भ्रमणलाई सैन्य कूटनीतिक अभ्यासको आरम्भका रुपमा समेत अर्थ्याउन थालिएको छ ।
पूर्वरथी विनोज बस्न्यात भने भारतीय सेनाध्यक्षलाई नयाँ भूराजनीतिक अवस्थामा नेपालको हित र चाहना प्रष्ट्याउने उच्चतम अवसर रहेको बताउनुहुन्छ ।
नेपाल भ्रमणमा आउनुभएका सेनापति नरवणे तिनै व्यक्ति हुन्, जसले नेपालले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि सबैभन्दा पहिले टिप्पणी गर्दै चीनको उक्साहटमा नेपालले यस्तो गरेको आरोप लगाएका थिए ।
सेनापति भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा ‘रअ’ प्रमुखबाट भएको आकस्मिक काठमाडौं यात्राका कारण पनि सेनापतिको यात्रा अर्थपूर्ण हुनसक्ने संकेत गरेको छ ।
प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्ट भने अतिक्रमित नेपालको भू–भागमाथि भारतले गरेका सैन्य कारबाही तत्काल बन्द गर्नुपर्ने सन्देश नेपालले प्रवाह गर्नुपर्ने बताउनुहुन्छ ।
त्यसो त चीनको ‘बीआरआई’ परियोजनालाई प्रशंसा गरेपनि ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’को अंगका रूपमा रहेको ‘एमसीसी’ परियोजना सत्तारुढ पार्टीका नेताहरुमै विवादित बनेको परिवेशमा भारतले सेनाध्यक्ष पठाएको छ ।
भूराजनीतिक अर्थ र अनुमान अनेक कोणबाट अर्थ्याउँदै नेपाल–भारतभन्दा बाहिर विश्व राजनीतिको व्यापक आयामसँग जोडेर हेर्नुपर्ने पूर्वरथी बस्न्यातको टिप्पणी छ ।
विगतमा हुने नेपाल–भारत सेनाध्यक्षका भ्रमणहरु सम्मान ग्रहणको औपचारिकतामा सीमित रहेपनि अहिलेको परिवेशमा त्यसको आयाम भने बढ्दो छ ।
एकातिर चीनसँग तनाव बढिरहेको परिवेश र अर्कोतिर नेपालसँगको सम्बन्ध र सहकार्यलाई उत्तरले रणनीतिक प्राथमिकतामा राख्दै गएकोले काठमाडौंसँग सम्बन्ध सुधार्नुपर्ने दबाब दिल्लीलाई पनि छ ।
नेपालले पनि भूराजनीतिक परिवेशमा आफ्नो राष्ट्रिय हित र प्राथमिकता प्रकट गर्न ढिलासुस्ती गर्नुहुन्न ।
प्रतिक्रिया दिनुहोस्