१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाली फुटबल टोली बंगलादेश प्रस्थान


0
Shares

काठमाडौं, कात्तिक २० । नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ ।

मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किनेछ ।

नेपाली टोलीको कप्तानको जिम्मेवारी गोलकिपर किरण चेम्जोङलाई दिइएको छ ।

लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदैगर्दा निकै उत्साहित देखिएको छ ।

बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा आठ नयाँ अनुहारले स्थान बनाएका छन् ।

अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् ।

यस्तै, अरु सात खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ । उनीहरु ‘आइसोलेसन’मा छन् ।

दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलोपटक सिनियर टोलीमा अटाएका हुन् ।

मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाइ कार्यक्रमपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाइँ थप फलदायी हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेपालले यही कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

कोरोनाको महामारीपछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताउनुभयो ।

तर, महामारीका बीच सुचारु भएको छोटो अभ्यासले मैत्रीपूर्ण खेल निकै चुनौतीपूर्ण भएको उहाँको प्रतिक्रिया छ ।

यस्तै, टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताउनुभयो । साथै, बंगलादेशसँगको मैत्रीपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रीपूर्ण खेलले अनुभव दिनेपनि उहाँले बताउनुभयो ।

नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रीपूर्ण खेलमा सुखद नतिजा निक्लिनेमा खवास विश्वस्त देखिनुहुन्छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेश प्रस्थान गर्नुअघि टोलीको ‘पीसीआर’ परीक्षण गरेको थियो । उक्त परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो ।

टोलीले बंगलादेशमा एक साता बिताएपछिमात्रै मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।