
सर्लाही, कात्तिक २० । किसानको भुक्तानी तिर्न नसकेर बन्द भएको सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल यो वर्ष पुनः सञ्चालनमा आउने भएको छ ।
किसानको पहिलेको भुक्तानी हुन बाँकी रकम भुक्तानी नगरी मिल सञ्चालनको तयारी गरिएको हो ।
किसानले अघिल्ला वर्षहरुमा बिक्री गरेको उखुको भुक्तानी दिन नसकेर गत वर्ष सञ्चालन नभएको अन्नपूर्ण चिनी मिल यो वर्ष पुनः सञ्चालन गर्ने गरी तयारी थालिएको हो । उद्योगभित्र अहिले मर्मत–सम्भारको काम चलिरहेको छ ।
काठमाडौं पुगेर आन्दोलन गर्दापनि पैसा नपाएको अवस्थामा उद्योग चलाउने तयारी भइरहँदा किसान भने रुष्ट बनेका छन् ।
स्थानीय प्रशासन र सरकारसँगको वार्तामा पटक–पटक भाका तोकेपनि उद्योगले पुरानो भुक्तानी नगरेको किसानले गुनासो गरेका छन् ।
प्रदेश नम्बर–२ को कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति वीरेन्द्रप्रसाद सिंहले प्रदेश सरकारलेसमेत भुक्तानीका लागि कठोर कदम चाल्ने बताउनुभएको छ ।
उद्योगले किसानलाई करिब २४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक संघले जनाएको छ ।
अन्नपूर्ण चिनी मिलका उखु प्रबन्धक अजित सिंहले पछिल्लो समय उद्योगको काठमाडौंस्थित केन्द्रीय कार्यालयबाटै भुक्तानी हुने गरेकाले यसबारे आफूहरुलाई केही जानकारी नभएको दाबी गर्नुभएको छ ।
उहाँले उद्योग सञ्चालन गर्नुअघि किसानको सबै बक्यौता भुक्तानी गरिदिने दाबी गर्नुभयो ।
नगदेबालीको रुपमा लिइने उखुबाली पछिल्लो समय किसानलाई ऋण बोकाउने खेतीको रुपमा परिणत हुन थालेको छ ।
त्यसैले सरकारले समयमै बक्यौता भुक्तानीका लागि पहल गरेर किसानलाई थप खेतीका लागि प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्