
काठमाडौं, साउन ६ । भारतले ‘चन्द्रयान–२’ को सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
आन्ध्र प्रदेशमा रहेको श्रीहरिकोटा स्टेसनबाट प्रक्षेपण गरिएको हो ।
चन्द्रयान–२ भारतीय समयअनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा प्रक्षेपण गरिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
गएको साता प्रक्षेपण गर्ने भनिएको चन्द्रयानमा अन्तिम समयमा प्राविधिक गडबढी आएका कारण रोकिएको थियो ।
यो अभियान सफल भए चन्द्रमामा यान अवतरण गराउने भारत चौथो मुलुक बन्नेछ ।
यसअघि, अमेरिका, चीन र पूर्वसोभियत संघले चन्द्रमामा यान अवतरण गराइसकेका छन् ।
भारतले प्रक्षेपण गरेको चन्द्रयान अहिलेसम्म अरु मुलुकले पठाएको अन्तरिक्ष यान नपुगेको ठाउँमा पुग्ने बताइएको छ ।
यो अभियानका लागि भारतको सबैभन्दा शक्तिशाली ६४० टनको रकेट प्रयोगमा ल्याइएको छ । जसका लागि नासाका एक वैज्ञानिकसहित १३ भारतीय वैज्ञानिक रहेका छन् ।
भारतीय चन्द्रयानको मुख्य उद्देश्य चन्द्रमाको सतहमा पानीको खोजी गर्नु हो ।
प्रक्षेपण गरिएको चन्द्रयान दुई महिनापछि तीन लाख ८४ हजार किलोमिटरको यात्रा पूरा गरेर चन्द्रमाको सतहमा पुग्ने विश्वास गरिएको छ ।
निकै नै जोखिमपूर्ण रहेको चन्द्रमाको दक्षिणी ध्रुवको सतहसम्म पुग्ने चन्द्रयानको सफल परीक्षणले अन्तरिक्ष इतिहासमा नयाँ आयाम कायम हुने भारतको विश्वास छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्