
काठमाडौं, कात्तिक २० । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म एक हजार ५२ जना व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ ।
तर, मृतकको संख्यामा स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक र नेपाली सेनाको तथ्यांकमा भने धेरै अन्तर रहेको पाइएको छ ।
कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको तथ्यांक स्वास्थ्य मन्त्रालयले र नेपाली सेनाले दिएकोमा ठूलो अन्तर भेटिएको छ ।
संक्रमणका कारण मृत्यु हुनेहरुको शव सुरुआती चरणदेखि नै व्यवस्थापन गर्दै आएको नेपाली सेना र स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने गरेको तथ्यांकमा ठूलो अन्तर रहेको भेटिएको हो ।
नेपाली सेनाका अधिकारीकाअनुसार मन्त्रालय र नेपाली सेनाबीचको मृतकको तथ्यांकमा झन्डै ६०० अन्तर रहेको छ । यद्यपि, सेनाले आफ्नो आधिकारिक धारणा भने दिएको छैन ।
नेपाली सेनाको तथ्यांकलाई मान्ने हो भने नेपालमा कोरोना संक्रमणबाट एक हजार ६०० व्यक्तिको मृत्यु भइसकेको देखिन्छ । यद्यपि, मन्त्रालयले भने हालसम्म एक हजार ५२ जनाको मात्र मृत्यु पुष्टि गरेको छ ।
तथ्यांक फरक रहेको सूचना बाहिरिएपछि मन्त्रालयको सूचनामाथि नै प्रश्न उब्जिएको छ ।
प्रदेश सरकार, नेपाली सेना र स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा एकरुपता नभएपछि स्वास्थ्य मन्त्रालयले अध्ययनका लागि समिति गठन गरेको थियो । समितिले कात्तिक १५ गते नै विवरण बुझाउनुपर्ने थियो । तर, काम नसकिएको भन्दै अझै केही दिन लाग्ने समितिले जनाएको छ ।
मन्त्रालयले स्वास्थ्य सहसचिव शैलजा रेग्मीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
स्वास्थ्य मन्त्रालयसम्म ‘होम आइसोलेसन’मा बस्ने मृतकको तथ्यांक नआएका कारण तथ्यांक फरक देखिएको जनाइएको छ ।
तर, मन्त्रालयको तथ्यांकमा नै नआइ सेनाले शव व्यवस्थापन गरेको विषय अलि पत्यारलाग्दो देखिंदैन ।
के कारणले तथ्यांक फरक पर्न गयो भन्ने मन्त्रालयबाट आधिकारिक धारणा दिन ढिलाइ गर्दा जनमानसमा आशंका थप बढ्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्