१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नदीभित्रको जग्गा आफ्नो भन्दै स्थानीयले गरे महाकाली नदीमा स्पर बनाउन अवरोध


0
Shares

कञ्चनपुर, कात्तिक २० । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का स्थानीय बासिन्दाले महाकाली नदीमा स्पर बनाउन अवरोध गरेका छन् ।

नदीभित्रको जग्गाको आफूहरुसँग लालपुर्जा रहेको भन्दै स्थानीय बासिन्दाले निर्माण व्यवसायीलाई स्पर बनाउन अवरोध गरेका हुन् ।

लालपुर्जासहित पुल आयोजनामा पुगेका भीमदत्त नगरपालिका–११ का स्थानीयले नदीभित्रको जग्गा आफूहरुको भएको दाबी गर्दै त्यसमा स्पर बनाउन नदिने अडान लिएका छन् ।

स्थानीयको अवरोधपछि अहिले महाकाली नदीमा स्पर निर्माण रोकिएको छ ।

चार लेनको पक्की पुलसहित छ लेनको पहुँचमार्गको जिम्मा पाएको निर्माण कम्पनीले नदीभित्र पोखरी निर्माणका लागि स्पर बनाउन तयारी गर्दै थियो ।

स्थानीयले स्पर निर्माणकार्यमा अवरोध गरेपछि पुल आयोजनाको काम प्रभावित हुने भएको महाकाली पुल आयोजनाका इन्जिनियर धुव्रकुमार झाले बताउनुभयो ।

उहाँले ‘रिभर ट्रेनिङ’का लागि ड्याम निर्माण गर्न पाँचओटा स्पर निर्माण गर्नुपर्नेमा गत वर्ष दुईओटा निर्माण भइसकेको र यस वर्ष तीनओटा स्पर निर्माणकार्य अगाडि बढाउँदा स्थानीयले अवरोध गरेको जानकारी दिनुभयो ।

स्पर बनाउन नसकिए रिभर ट्रेनिङका ड्याम बनाउने कार्य अगाडि नबढ्ने र त्यसले निर्माण भइसकेको चार लेनको पक्की पुलमा समेत क्षति पुग्ने उहाँले बताउनुभयो ।