
चितवन । चितवनका किसानहरु अहिलेको समयमा मल नपाउंदाको पीडा भोग्न बाध्य भएका छन् ।
समयमै परेको पानीले राम्रोसँग खेत रोप्न पाएपनि मल नपाउंदाको असर भने अहिले धानको दानामा देखिन थालेको छ ।
धानमा थुप्रोमा पोटिलो दाना भन्दा पनि धेरै भुस देखिएपछि किसानहरु चिन्तित भएका छन् । चितवनका धानखेत झट्ट हेर्दा पहेँलो देखिन थालेको छ ।
टाढैबाट हेर्दा जो कोहीलाई पनि धान पाक्न–पाक्न लागेको जस्तो लाग्छ । तर, नजिकै पुगेर हेर्दा भने धान पाकेको नभई गबारो र कालोपोकेले सिध्याएको ठम्याउन सकिन्छ ।
दुख गरेर लगाएको धान पाक्ने बेलामा यसरी नोक्सानी भएपछि जिल्लाका किसानहरू निराश भएका छन् ।
भकारी भरी धान भित्र्याउला भन्ने सोचेका उनीहरु उल्टै वर्षभरी खान पनि पुग्दैन कि भन्ने चिन्ताले पिरोलिएका छन् ।
कुनै समय २२ मुरी धान उत्पादन लिएकी भरतपुर– ४ की लक्ष्मी सापकोटाको ६ कठ्ठा खेतमा अहिले बल्ल – तल्ल त्यसको आधा मात्रै धान फलेको छ ।
एक पटक खेती लगाउँदा २० देखि २५ हजार रुपैया खर्च लागेको बताउँने उहाँ अहिले त्यो नउठ्ने चिन्तामा हुनुहून्छ । सोही ठाउँकी राधा खनालको पिडा पनि उस्तै छ ।
झरीबादल नभनी अहोरात्र खट्दा पनि धानबालीको यो हबिगत देख्दा उन्को मन पनि बेखुशी छ । समयमै समस्या लिएर सम्वन्धित निकायमा जाँदा पनि उचित सल्लाह नपाउँदा क्षती धेरै व्यहोर्नु परेको किसानहरुको गुनासो छ ।
१५ कठ्ठा जमिनमा धान खेती गरेका कृष्ण चापागाई जस्तै उक्त क्षेत्रका ५० देखि ६० जना किसानले अहिले आधा धानमात्र भित्र्याउन पाएका छन् भने सबै भुसको रुपमा खेर गएको छ ।
धानको सुइरो नै सुकेपछि ४० देखि ४५ मुरी धान भित्राइरहनुभएका उहाँ अहिले कठिनले १० मुरी धान फलेको दुखेसो गर्नु हुन्छ ।
समयमा पानी पर्दासमेत मल बिउ नदिने र औषधि रोग नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिदा यस्तो हबिगत बेहोर्नु परेको किसानहरुको भनाई छ ।
बाली लगाउदा या भित्र्याउने बेला सधै समस्यामा पर्ने गरेका किसानहरुको यो बर्ष पनि पुरपुरोमा हात लागाएर बस्नु सिबाय अरु उपाय देखिदैन ।
त्यसैले यो वर्षको नोक्सानीबाट पाठ सिकेर अर्को बर्षको उत्पादन वृद्धिकोलागि पूर्व तयारी गर्नुको बिकल्प छैन् ।
प्रतिक्रिया दिनुहोस्