
काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको कुनै एक पक्षलाई साथ दिँदै सक्रिय रहेको भन्ने समाचार प्रति चासो दिनुभएको छ ।
उहाँले शुक्रबार ट्विट गर्दै यदि त्यसो भएको भए राष्ट्रपति भण्डारीले राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन गरेको ठहरिने बताउनुभएको छ ।
पछिल्लो समय राष्ट्रपतिले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षलाई साथ दिइरहेको भन्ने खबर आइरहेको छ ।
रावलले लेख्नुभएको छ, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ । यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’
केही दिनअघि राष्ट्रपति भण्डारीले उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर पार्टी एकताको लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।
पछिल्लो समय दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच विवाद बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्