
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको बैठक बोलाउनुभएको छ ।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन नमानेपछि दाहालले शुक्रबार दिउँसो ३ बजेका लागि सचिवालयको बैठक बोलाउनुभएको हो ।
पछिल्लो समय नेकपाभित्र दुई अध्यक्षबीच विवाद चर्किएको छ । बैठक पार्टी कार्यालय धुम्बाराही दिउँसो ३ बजे बस्ने प्रचण्डको सचिवालयले जनाएको छ।
बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँगको भेटमा दाहालले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो ।
दाहालले राखेको माग प्रधानमन्त्री ओलीले ठाडै अस्विकार गरेपछि दाहालले आज सचिवालय बैठक बोलाउनुभएको हो ।
ओली निकट स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओली र उहाँ पक्षका सदस्यहरू उपस्थित नहुने बताइएको छ ।
बैठकका बारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग छलफल नभएको र महासचिवले समेत औपचारिक रुपमा कुनै बैठक नबोलाउनु भएकाले प्रचण्डले बोलाउनु भएको बैठक पार्टी कमिटीको बैठक नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताउनुभयो ।
तर प्रचण्डनिकट सचिवालय सदस्यले भने यसलाई ‘औपचारिक बैठक’ कै संज्ञा दिएका छन् ।
आज बिहान प्रचण्डले पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको भेटमा सचिवालय सदस्यहरूसँग छलफल गर्ने जानकारी गराउनु भएको थियो ।
प्रचण्डले गत आइतबार आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासँग छलफल गर्नु भएको थियो ।
६ नेताको भेलाले पार्टी सचिवालय बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेपनि बालुवाटारले भने त्यसलाई गुट भेलाको आरोप लगाएको थियो ।
पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओली र उनीइतर समूहबीचको तनाव चुलिएको छ ।
मन्त्रिपरिषद् पुनर्गठनमा देखिएको असहमति, कर्णाली प्रदेशको विवाद, रअ प्रमुखसंग प्रधानमन्त्रीको भेटलगायत विषयमा मतभिन्नता बढ्दै जाँदा नेकपाको एकता संकटमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्