
काठमाडौं, कात्तिक २१ । भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमण सकेर शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ ।
भ्रमणको क्रममा सेनाध्यक्ष नरवणेले नेपाली सेनाको मानार्थ सेनापतिको उपाधि ग्रहण गर्नुका साथै उच्चस्तरीय भेटवार्तासमेत गर्नुभएको छ ।
नेपाल र भारतबीचको पछिल्लो सम्बन्धको सेरोफेरोमा सेनाध्यक्ष नरवणेको भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । यसलाई सैनिक परम्परा धान्ने भ्रमणको रुपमा मात्र हेरिएको छैन ।
सेनाध्यक्ष नरवणेको भ्रमणले दुई देशबीच रहेको संवादहीनता अन्त्यका लागि ढोका खुल्ने कतिपयको विश्लेषण छ ।
सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण विगतदेखि चल्दै आएको परम्पराअनुसार नेपाली सेनाको मानार्थ महारथीको उपाधिको लागिमात्र नभइ विशेष चासोपूर्वक हेरिएको छ ।
सीमा विवादले झन्डै एक वर्षसम्म कूटनीतिक संवादहीनताको अवस्था रहेको बेला सैनिक तहमा भएको यो उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन सक्ने विश्वासका कारण सेनाध्यक्ष नरवणेको भ्रमणलाई चासोपूर्वक हेरिएको हो ।
दुई देशबीच चिसिएको सम्बन्ध भारतीय सेनाका शीर्ष अधिकारीको भ्रमणले सुधार्न सक्ने आँकलन गरिएको छ ।
हुन पनि भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्तामा सेनाध्यक्ष नरवणेले दुई देशबीचको पछिल्लो सम्बन्धकाबारे चिन्ता व्यक्त गरेका छन् ।
विश्लेषकहरुले पनि भारतीय सेनाध्यक्षको भ्रमण परम्परा, राजनीतिक र रणनीतिक दृष्टिकोणले महत्वपूर्ण रहेको टिप्पणी गरेका छन् ।
परराष्ट्रविद् प्रा. डा. लोकराज बरालले नरवणेको नेपाल भ्रमणले दुई देशबीच जारी संवादहीनता अन्त्य गर्न सहयोग पुग्ने बताउनुभयो ।
पछिल्लो समय भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको विवादको सन्दर्भमा सेनाध्यक्षको भ्रमणलाई रणनीतिक दृष्टिकोणले पनि हेरिएको छ ।
प्रा. डा. बराल हिमालयन ‘रेञ्ज’मा देखिएको तनावकाबीच नेपालको धारणा बुझ्ने प्रयास भएको हुनसक्ने जिकिर गर्नुभयो ।
सेनाध्यक्षको भ्रमणलाई दुई देशबीचको सुरक्षाको सन्दर्भमा पनि विश्लेषण गरिएको छ ।
तर, सुरक्षाविद् प्रेमसिंह बस्न्यातले यो भ्रमणमा राजनीतिक गन्ध पनि आएको भन्दै सुरक्षा सम्बन्धमा सेनाध्यक्षले भारतको एजेन्डा सुनाएको हुनसक्ने तर नेपालको सुरक्षा स्थितिमा केही परिवर्तन नआउने जिकिर गर्नुभयो ।
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणबारे विभिन्न विश्लेषण भएपनि अहिलेको भ्रमणलाई परम्परा धान्ने सैनिक कूटनीतिका रुपमा मात्रै अर्थ लगाउन नहुने अधिकांशको धारणा छ ।
सीमा समस्या समाधानका लागि कतिपय मुलुकका सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेकोले नेपाल र भारतबीचको सीमा विवाद समाधानका लागि सैन्य कूटनीतिले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने धेरैको विश्लेषण छ ।
तर, कतिपयले भने भारतीय सेनाध्यक्षले ल्याएको सन्देशलाई नेपालले गहिरो ढंगले केलाउनुपर्ने धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्