२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


यस्तो छ, ओलीइतर नेकपा सचिवालय सदस्यहरुको अनौपचारिक बैठकको निर्णय


0
Shares

काठमाडौं, कात्तिक २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पाँच सचिवालय सदस्यको अनौपचारिक बैठकले शनिबार (भोलि) अध्यक्ष ओलीलाई सामूहिकरुपमा भेटेर पार्टीको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नौ सदस्यीय सचिवालयमध्ये बैठकमा नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहित पाँचजना सचिवालय सदस्यहरुको मात्रै उपस्थिति रहेको थियो ।

अध्यक्ष दाहालले बोलाउनुभएको सचिवालय बैठकमा ओलीसहित इतर समूहका सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णुप्रसाद पौडेल भने अनुपस्थित थिए ।

कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भएपनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष ओलीको सहमतिमै बैठक बोलाउने समझदारी भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बिहीबार अध्यक्ष ओलीले आफ्नो असहमतिमा कुनैपनि बैठक राखेर निर्णय गरेमा त्यो नै फुटको विन्दु हुने चेतावनी दिएपछि दाहालले ओलीकै सहमतिमा शुक्रबार अनौपचारिक छलफल राख्नुभएको बैठकमा जानकारी दिनुभएको हो ।

चुलिँदै तनाव
बिहीबार अध्यक्ष ओली र दाहालबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न नसकेपछि दुई नेताबीच भनाभन भएको समाचारसमेत बाहिरिएका छन् ।

यहीबीचमा ओलीले आफ्नो राजीनामा मागिएको भन्दै सार्वजनिकरुपमै बुधबार र बिहीबार पार्टीका नेताहरुमाथि आक्रोश पोख्नुभएको थियो भने पार्टीका नेताहरुले प्रसंगमै नरहेको राजीनामा माग्न थालिएको विषयमाथि घोर आपत्ति जनाएका हुन् ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँइतर समूहबीचको तनाव चुलिँदै गएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनमा देखिएको असहमति, कर्णाली प्रदेशको विवादलगायत विषयमा मतभिन्नता बढ्दै जाँदा नेकपाको एकता संकटमा परेको हो ।