१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परराष्ट्रमन्त्री ज्ञवालीले गरे काष्ठमण्डप पुनःनिर्माणको स्थलगत अनुगमन


0
Shares

काठमाडौं, कात्तिक २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुनःनिर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।

काष्ठमण्डप पुनःनिर्माणको काम आगामी वर्षको वैशाख १२ गते सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले तोकिएकै समयमा काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको हो ।

शुक्रबार सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित काष्ठमण्डप पुनःनिर्माणको कार्यप्रगतिका विषयमा स्थलगत अनुगमनमा पुग्नुभएका मन्त्री ज्ञवालीले तोकिएको समय र तोकिएभन्दा कम लागतमा काम भइरहेकोमा खुसी पनि व्यक्त गर्नुभयो ।

स्थानीयसमेतको सहभागिता हुँदा निर्धारित समयमा कुल अनुमानित लागतभन्दा एकतिहाइ कम रकममा सम्पदाको संरक्षण र पुनःनिर्माण भइरहेको उहाँले बताउनुभो ।

परराष्ट्रमन्त्री ज्ञवालीले साँस्कृतिक सम्पदाहरुको पुनःनिर्माणमा स्थानीयलाई सहभागी गराउने नीतिले नमुना स्थापित गरेको पनि बताउनुभयो ।

स्थानीयको सहभागिताले पुनःनिर्माण गरिएका सम्पदाहरुको मौलिक स्वरुप नबिग्रिने उहाँले बताउनुभयो ।

वि.सं. २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी वर्षको वैशाख १२ गते उद्घाटन गर्नेगरी अहिले काम जारी रहेको छ ।