१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेनाध्यक्ष नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी : नेपाली सेना


0
Shares

काठमाडौं, कात्तिक २१ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कनुभएको छ ।

सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले बिदाइ गर्नुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न बुधवार उहाँ यहाँ आउनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार नै आयोजित विशेष समारोहमा सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभयो ।

भारतीय सेनाध्यक्षले दुईओटा घुम्ती अस्पताल सञ्चालन गर्न आवश्यक चार एम्बुलेन्स, चार भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री एवं उपकरण नेपाली सेनालाई बिहीबार हस्तान्तरण गर्नुभएको थियो ।

उहाँले बुधबार वसन्तपुर क्षेत्र र पशुपतिनाथको पनि दर्शन गर्नुभएको थियो ।

नेपाल र भारतीय सेनाबीच एकार्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औं सेनापति हुनुहुन्छ ।

सम्बन्ध सुदृढ गर्न भ्रमण फलदायी
समकक्षी थापा र सेनाध्यक्ष नरवणेबीच आपसी सुरक्षा चासोका विषयमा भएको खुला छलफलमा दुवै सेनाबीच उच्चस्तरीय भ्रमण र तालिमलगायत अन्य सहयोगका क्षेत्र थप विस्तार गर्दै जाने विषयमा गहन विचार–विमर्श भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले शुक्रबारै शिष्टाचार भेट गर्नुभएको थियो ।

यसअघि, सेनाध्यक्ष नरवणेले शुक्रबारै शिवपुरीस्थित सैनिक कमान्ड कलेजमा शिक्षार्थीसँग आफ्नो सैनिक जीवनको अनुभव सुनाउँदै अन्तरक्रिया गर्नाका साथै हवाईजहाजबाट हिमालय क्षेत्रको दृश्यावलोकन गर्नुभएको थियो ।

नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत सम्बन्ध सुदृढ गर्न यो भ्रमण फलदायी भएको दुवै सेनापतिले विश्वास व्यक्त गर्नुभएको छ ।