
काठमाडौ । कोरोना भाइरस कोभिड-१९ बाट थप ६ जनाको मृत्यु भएको छ ।
विराटनगर र बाँकेमा गरी थप ६ संक्रमितको मृत्यु भएको हो । विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक बृद्धा र एक युवती गरी दुईजना महिलाको मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार झापा शिवसताक्षी नगरपालिकाकी २६ वर्षीया युवतीको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना पोजेटिभ युवतीलाई थप उपचारका लागि कात्तिक १५ गते अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसैगरि, सुनसरीको दुहबी नगरपालिका ९ की ६८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएकी महिलामा कोरोना पुष्टि भएको थियो । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं.१० दाङ निवासी २० वर्षकी युवती र तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्