
नुवाकोट, कात्तिक २२ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत् इन्जिनियरसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिनेक्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा इन्जिनियर पर्वत पौडेलसहित उनलाई सहयोग पुर्याउने नारायण भट्टलाई आयोगको टोलीले शनिबार विदुर नगरपालिका–२ को एक होटलबाट पक्राउ गरेको हो ।
शनिबार बिहान होटल व्यवसायीले ५० र २५ हजारका दुई बन्डल पसलमा चिया पिउनेक्रममा दिन लाग्दा आयोगको टोलीले रंगेहात पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेकाहरुलाई विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धानपछि मुद्दा दायर गर्ने जनाइएको छ ।
यसअघि, सोही नगरपालिकामा कार्यरत् सबइन्जिनियर तथा निजामती कर्मचारी संगठन नुवाकोटका अध्यक्ष रहेका बद्री भण्डारी पक्राउ परेका थिए ।
त्यसैगरी, जिल्ला वन कार्यालयका ‘डीएफओ’ जयमंगल प्रसाद सूर्यगढीगाउपालिका–५ स्थित तादी लाइमस्टोनका लागि सहमति दिन झुलाएको आरोपमा पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्