
काठमाडौं, कात्तिक २२ । विश्वभरका बौद्ध धर्मावलम्बीले शनिबार भगवान् बुद्ध पृथ्वीमा अवतरण गरेको पवित्र दिनको रुपमा सङ्कासय दिवस मनाइरहेका छन् ।
विशेषगरी बज्रयानी बौद्ध धर्मावलम्बीले भगवान् बुद्ध त्रायत्रिंसती भुवनबाट यस धर्तीमा अवतरण गरेको दिनको रुपमा यो दिवस मनाउने गर्छन् ।
लुम्बिनीमा सिद्धार्थ गौतम जन्मेको एक हप्तापछि आमा मायादेवीको निधन भएको र मायादेवी त्रायत्रिंसती भुवन देवलोक बास गरेको विश्वास गरिन्छ ।
बुद्धत्व प्राप्त गरेर ४१ वर्षको उमेरमा बुद्धले आमा मायादेवीको गुणलाई स्मरण गरी त्रायत्रिंसती भुवन देवलोकमा जानु भइ तीन महिनासम्म वर्षाबास बसी आमालाई अभिधम्म देशना गरेको बौद्ध धर्मावलम्बीको विश्वास छ ।
चित्तसम्बन्धी गम्भीर दर्शन ज्ञान देवताहरुलाई समेत दिइ भगवान् बुद्ध यस धर्तीमा आजैकै दिन अवतरण गरेका मानिन्छ ।
तसर्थ, यसै अवसरमा काठमाडौको बुद्धधर्म महाविहार साङ्गे छ्योलिङ गुम्बामा पनि अवलोकितेश्वरको ठूलो थान्का प्रदर्शन गरी महाकालको विशेष पूजा गरिएको छ ।
बौद्धग्रन्थ प्रज्ञापारमिता पाठ गरी मानव जातिमा चित्तशुद्ध भएमात्र प्राणीको हित र प्रगतिका लागि मानिसलाई अघि बढ्न प्रेरित गर्न आजको दिनको विशेष महत्व रहेको छ । थेरबादीहरुले कतिंपुन्ही कोजागत पूर्णिमाको दिन यो पर्व मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस्