
काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठक शनिबार पनि विनानिष्कर्ष टुंगिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागको विषय टुंगोमा पुग्न नसकेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिनुभयो ।
बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वउपसभापति गोपालमान श्रेष्ठले गठन भइसकेका विभाग र महाधिवेशन मिति हेरफेरमा सहमति गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
कांग्रेस पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले विधानविपरीत भएका गल्तीहरु सच्याउन माग गर्दै विधानसम्मत् भएका निर्णयहरु आफूहरु मान्न तयार भएको बताउनुभयो ।
केन्द्रीय सदस्य साउदले बैठकमा पार्टी समायोजनको विषय, क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या र महाधिवेशनको कार्यतालिका संशोधनको विषयमा कुरा उठेको जानकारी दिनुभयो ।
उहाँले बैठकमा सहभागीहरुले बोल्नेक्रम नसकिएपछि आइतबार (भोलि) दिउँसो १ बजे निर्णायक बैठक बस्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्