१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना भाइरसको खतरा कहिलेसम्म रहला ?


0
Shares

काठमाडौं । जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीका डा. इरिक टोनरका अनुसार यो महामारी तबसम्म रहन्छ जबसम्म भ्याक्सिन लिएर वा कोभिड–१९ बाट बिरामी भई निको भएर अधिकांश मानिसहरुको प्रतिरक्षा प्रणाली कोरोनासँग लड्न सक्षम हुँदैन ।

सञ्चारमाध्यमहरुमा आइरहेको कम्तीमा १८ महिनामा कोरोना हराउँछ भन्ने कुरा १८ महिनाअघि यसको विरुद्धको खोप तयार हुँदैन भन्ने अनुमानमा आधारित छ । तर त्यो खोप तयार भएर मानिसमा प्रयोग हुने अवस्थामा आउन कति समय लाग्छ, निश्चितरुपमा अझै भन्न सक्ने स्थिति छैन ।

१८ महिना वा सो भन्दा बढी पनि लाग्न सक्छ । यो रोग वेभका रुपमा फर्की–फर्की आइरहेकाले कठिन भए पनि सामाजिक दूरी हाललाई कायम राख्नुपर्छ ।

कोरोना भाइरसबाट बच्नको लागि लगाइने धेरै भ्याक्सिनहरुको परीक्षण भइरहेको भए तापनि अहिलेसम्म कुनै पनि भ्याक्सिन तयार भइसकेको छैन । साथै रोग लागेपछि गरिने उपचारका लागि पनि कुनै औषधि विकास भइसकेको छैन ।

हाल लक्षणहरुको मात्र उपचार गरिन्छ । कोरोना भाइरस लागेका ८० प्रतिशत बिरामी अस्पतालको उपचारविना नै निको हुन्छन् । पाँच जनामध्ये एक जनाचाहिँ गम्भीर हुने र स्वास फेर्न पनि गाह्रो हुने गरेको पाइएको छ । खासगरी मुटु, फोक्सो, मधुमेह, क्यान्सर, उच्च रक्तचाप भएका मानिस गम्भीर हुने खतरा हुन्छ ।

औषधिको विकास नभएको अवस्थामा यसबाट बच्ने उपाय भनेको सामाजिक दूरी कायम गर्ने, बेला–बेलामा साबुन–पानीले हात धोइरहने र मास्क लगाउने नै हो ।

साथै बजारमा कुनै पनि सामान किन्न जाँदा सामान छोइसकेपछि स्यानिटाइजर लगाउने वा राम्ररी साबुन–पानीले हात नधोएसम्म नाक, मुख, आँखा नछुने र केही नखाने पनि । त्यसै गरी किनेर ल्याएका तरकारी र फलफूल पनि हात धोएर राम्ररी पखाल्नुपर्छ ।साधनाबाट