
कञ्चनपुर, कात्तिक २४ । कञ्चनपुरमा हतियार देखाएर रकम लुट्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार बेदकोट नगरपालिका–५, पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई हतियार देखाएर नगद तीन लाख रुपैयाँ लुट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बेदकोट नगरपालिकाका केदार विष्ट, पारसमणि जोशी र कृष्णपुर नगरपालिकाका दीपक भट्ट रहेका छन् ।
उनीहरुलाई प्रहरीले शनिबार बेलुका एकथान सेमि अटोमेटिक पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो ।
उनीहरुले आफूहरु प्रहरीको अनुसन्धान ब्यूरोबाट जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा आएको भन्दै हतियार देखाएर लुटपाट गरेका थिए ।
प्रहरीले घटनास्थलबाट एकथान म्याग्जिन र दुई राउन्ड गोली बरामद गरेको थियो ।
साथै, प्रहरीले केदार विष्टको घरमा ‘सर्च’ गर्दा ‘टाइप–२४’ जस्तो देखिने म्याग्जिनबिनाको पेस्तोल पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताउनुभयो ।
उहाँले लुटपाटमा प्रयोग भएको एउटा मोटरसाइकल र लुटिएका चारथान मोबाइलसमेत बरामद भएको जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्