१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गणेशमानको त्याग र निष्ठाको चौतर्फी प्रशंसा तर छैन व्यवहारमा लागू गर्ने तत्परता

सन्दर्भः गणेशमान सिंहको १०६औं जन्मजयन्ती

0
Shares

काठमाडौं, कात्तिक २४ । प्रजातन्त्र पुनःस्थापनाको लागि वि.सं. २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर एवं लौहपुरुष गणेशमान सिंहको १०६औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाली राजनीतिमा निष्ठा र त्यागका मापकको रुपमा रहन सफल गणेशमानको आदर्शलाई वर्तमान राजनीतिक नेतृत्वले व्यवहारमा लागू गर्न सकेको छैन ।

अहिलेपनि नेपाली राजनीतिमा सिंहको त्याग र निष्ठाको चौतर्फी प्रशंसा हुन्छ । तर, व्यवहारमा लागू गर्ने तत्परता कहीँ–कतैबाट हुने गरेको छैन ।

लौहपुरुष गणेशमान सिंह नेपाली राजनीतिमा त्याग, निष्ठा र साहसको उच्च मापक मानिनुहुन्छ ।

पछिल्लो समय राष्ट्रिय होस् या पार्टीको आन्तरिक राजनीतिमा, सिंहको आदर्श झन् सान्दर्भिक हुँदै गएपनि राजनीतिकर्मीहरुले व्यवहारमा लागू गर्ने प्रयास गरेका छैनन् । वर्तमान राजनीतिमा त्याग र निष्ठा एकादेशको कथा बनेको छ ।

उहाँले नै स्थापना गरेको पार्टी नेपाली कांग्रेसलेसमेत गणेशमानको आदर्श आत्मसात् गर्ने प्रयास गरेको छैन ।

वि.सं. २०४६ को जनआन्दोलनको सफलतापछि तत्कालीन राजा वीरेन्द्रले सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेपनि उहाँले आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो । तर, मुलुकको वर्तमान राजनीति भागबन्डा र पदको लुछाचुडीमै अल्झिएको छ ।

व्यवहार र सिद्धान्तमा खोलाका दुई किनाराजस्तै रहेका कांग्रेस र कम्युनिस्टलाई एकजुट बनाएर २०४६ सालको जनआन्दोलन सफलतामा पुर्‍याएवापत् सिंहलाई सर्वमान्य नेताका रुपमा लिने गरिन्छ ।

उहाँले राष्ट्रिय एकताका लागि खेलेको भूमिकाको अहिलेपनि प्रशंसा हुने गरेको छ ।

अहिलेका राजनीतिक नेताहरुले सिंहलाई राष्ट्रिय एकताको संवाहक र त्यागी नेताका रुपमा सम्झने गरेका छन् ।

वर्तमान समयको भू–राजनीतिका कारण पनि गणेशमानको राजनीतिक एकताको आदर्श झन् सान्दर्भिक हुँदै गएको छ ।

काठमाडौंको खानदानी परिवारमा जन्मेका सिंहले व्यवहारमै राजनीतिलाई जनताको सेवा भावको रुपमा चिनाउनुभयो । तर, वर्तमान राजनीति शक्ति र सम्पत्ति जोड्ने माध्यम बनेको छ ।

अहिलेका राजनीतिकर्मीहरुले राजनीतिलाई पेसाको रुपमा लिने प्रवृत्ति बढेको स्वीकार गरेपनि सेवाको रुपमा परिणत गर्ने तत्परता भने देखिँदैन ।

नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको निधनपछि २०४२ को जनमतसंग्रह र २०४६ को जनआन्दोलनको कमान्ड गर्नुभएका सर्वमान्य नेता सिंहको आदर्शलाई वर्तमान राजनीतिक नेतृत्वले आत्मसात् गर्नसके दूषित भएको राजनीतिप्रति जनतामा वितृष्णा जाग्ने थिएन कि ?

भिडियो हेर्नुहोस्