१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘कुमारी घरको काष्ठकलामा नकारात्मक असर पुग्नेगरी रङ पोतियो’ (भिडियो)


13
Shares

काठमाडौं, कात्तिक २४ । नेपाल हजारौं वर्षदेखि विकसित सभ्यताले चिनिएको मुलुक हो । मौलिक काष्ठकलाको धनी नेपालमा यी सम्पदाहरुको संरक्षण गर्न आवश्यक छ ।

तर, संरक्षण र सौन्दर्यकरणका नाममा सम्पदाहरुमा नकारात्मक असर पुर्‍याउनु कदाचित उचित होइन ।

काठमाडौं उपत्यका विश्वको एउटा पुरानो सभ्यताको केन्द्र हो । यहाँको कला र धर्म–संस्कृतिको आफ्नै मौलिक पहिचान छ । त्यसैले युनेस्को विश्व सम्पदामा उपत्यकाका मात्र सातओटा सम्पदा सूचीकृत छन् । जुन विश्वमा नेपालको पहिचान बनेको छ ।

यीमध्ये विश्व सम्पदा क्षेत्रभित्र रहेको जीवित देवी कुमारीको निवासस्थान कुमारी घर पनि पर्दछ । मध्यकालीन यो घर काष्ठकलाले भरिएको छ । जहाँ विश्व प्रसिद्ध मयूरझ्याल, आँखेझ्याल र सुनको मौलिक कला झल्किने दर्जनौं झ्याल छन् ।

यसमा वर्षेनि काठमाडौं महानगरपालिकाले रङरोगन गर्दै आएको छ । यस वर्ष पनि महानगरले ‘ब्ल्याक–अक्साइड’ नामको रसायन प्रयोग गरेर शताब्दी पुरानो झ्यालहरुमा रङ पोतेको छ ।

तर, सम्पदा संरक्षण अभियन्ताहरुले भने पुरातात्विक महत्वको मर्मविपरीत काष्ठकलामा नै नकारात्मक असर पुग्नेगरी रङ पोतिएको दाबी गरेका छन् ।

सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले कुमारी घरमा सौन्दर्यकरणको नाममा काठका झ्यालहरुमा नकारात्मक असर पर्नेे गरी म्यागनेटाइट रसायन रहेको रङ प्रयोग गरिएको बताउनुभयो ।

मौलिक सम्पदाहरुमा व्यापारीकरणका लागि सौन्दर्यकरण गर्न नहुने उहाँको जिकिर छ ।

कुमारी घरका चिताइदार गौतम शाक्यले आफूहरुसँग सल्लाह नै नगरी रङरोगन गरेको भन्दै विगतमा पनि यस्तै गर्दा विरोध गरेर रोकेको बताउनुभयो ।

तुलाधरले रङ राखिसकेकाले यसलाई उप्काउन सकिन्छ कि भन्नेबारे विज्ञहरुसँग छलफल गरिरहेको र भविष्यमा सम्पदा संरक्षणमा संवेदनशील हुनुपर्ने बताउनुभयो ।

पक्कै पनि सम्पदाहरुमा केही गर्दा संवेदनशील हुनु जरुरी छ । यो हाम्रो पुर्खाको नासो हो ।

हामीले काष्ठकलालाई शताब्दीसम्म कसरी बचाउने भनेर सोच्नुपर्छ नै यसलाई सौन्दयकरणको नाममा व्यापारीकरण गर्न कदापि दिनुहुँदैन ।

भिडियो हेर्नुहोस्

भिडियोः सुन्दर गुरुङ ।