२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेसभित्रको आन्तरिक कलह तत्कालका लागि मत्थर


0
Shares

काठमाडौं, कात्तिक २४ । महाधिवेशनको मुद्दामा गत साउनबाट सुरु भएको नेपाली कांग्रेसभित्रको आन्तरिक कलह तत्कालका लागि थामथुम पार्न सभापति शेरबहादुर देउवा सफल हुनुभएको छ ।

सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भेला गरेर संस्थापन समूहकै लाइनमा फागुनमा महाधिवेशन हुन नसक्ने निर्णयमा पुगेसँगै कांग्रेसले कति समय थपेर महाधिवेशन गर्छ भन्ने अनिश्चितता बढेको छ ।

सोमबार बसेको वरिष्ठ नेता पौडेल समूहनिकट भेलाले फागुनमा महाधिवेशन असम्भव भएको भन्दै क्रियाशील सदस्यताको विषय टुंगोमा पुर्‍याएर महाधिवेशन कार्यतालिका फेरबदल गर्नुपर्नेमा जोड दिएको छ ।

योसँगै कांग्रेसले फागुनमा तोकेको महाधिवेशन नहुने पक्का भएको छ ।

संस्थापन पक्ष यसअघि नै महाधिवेशन सार्ने निर्णयमा पुगेपनि पौडेल समूहले भने तोकेकै समयमा महाधिवेशन गर्नुपर्ने आवाज उठाउँदै आएको थियो ।

झन्डै एक साता बसेको पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरुको बैठकले महाधिवेशन मितिको अन्योलता चिर्न सकेको थिएन ।

सभापति देउवा खेमा नै मिति सारेर जेठमा गर्ने कि भदौ पुर्‍याउने भन्नेमा स्पष्ट हुन सकेको छैन ।

आइतबारको बैठकमा महाधिवेशनको मिति तत्काल हेरफेर नगर्ने कुरा भएको थियो ।

देउवानिकट केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पाँच सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, क्रियाशील सदस्यताको टुंगो लागेपछि महाधिवेशनको कार्यतालिका संशोधन गर्ने/नगर्ने विषयमा टुंगो लाग्नेछ ।

आइतबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल ‘नो मोर विभाग’ अर्थात् ‘अब विभाग थप्न रोक्नुहोस्, विधानविपरीत बनेका विभाग खारेज गर्नुहोस्’ भन्दै निष्केपनि देउवा विभाग खारेज गर्ने पक्षमा टसमस हुनुभएन ।

पौडेल समूहले असोज १२ गते १६ बुँदामा असन्तुष्टिसहित बुझाएको ध्यानाकर्षणपत्रका धेरै बुँदामा सैद्धान्तिक सहमति भएकाले पार्टीभित्रको असमझदारीले टुंगो पाइसकेको तर्क देउवा समूहको छ ।

हो, भ्रातृ तथा शुभेच्छुक संस्थाले अधिवेशन नगराए महाधिवेशनमा प्रतिनिधित्व हुन नपाउने भएका छन् । फागुनमा असम्भव देखिएको कांग्रेस महाधिवेशनमा सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले पाएका छन् ।

पार्टी सभापति र वरिष्ठ नेताले यो वा त्यो लफडा झिकेर विवादमै अल्झिनुभन्दा पनि कार्यतालिका संशोधन गरेर महाधिवेशन सुनिश्चित गर्नुको विकल्प कांग्रेसमा छैन ।

भिडियो हेर्नुहोस्