
वासिङ्टन, कात्तिक २४ । औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ ।
कम्पनीले ४३ हजार ५३८ विभिन्न स्थानका संक्रमितमा औषधिको परीक्षण गरिएको र यसको नतिजा ९४ प्रतिशत सकारात्मक रहेको भन्दै ‘क्लिनिकल’ परीक्षणलाई अझै जारी राखिएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार खोपको प्रभावकारितासम्बन्धी समाचारलाई ‘खुसीको खबर’ भन्नुभएको छ ।
‘खोप छिट्टै आउँदैछ । यसले स्टक बजार ह्वात्तै बढ्नेछ । खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी पाइएको छ । यो विशेष समाचार हुनसक्छ’–ट्रम्पले खोपको प्रभावकारितासम्बन्धी समाचार सार्वजनिक भएपछि गरेको ट्वीटर सन्देशमा उल्लेख छ ।
ट्रम्प प्रशासनले कोभिड–१९ महामारी नियन्त्रणका लागि आवश्यक कदम नचालेको आरोप अमेरिकीहरूले नै लगाउने गरेका छन् ।
ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा आएको जनमतलाई पनि यसै विषयसँग जोडेर हेरिएको छ ।
अमेरिकामा अहिलेपनि कोरोनाभाइरस संक्रमण दर उच्च रहेको र यो नियन्त्रणमा आउने कुनै संकेत नदेखिएको भनी राष्ट्रपति ट्रम्पको आलोचनासमेत भएको छ ।
प्रतिक्रिया दिनुहोस्