
महोत्तरी, साउन ३ । जलेश्वर नगरपालिकाका पाँचजना वडाध्यक्षले विगत १९ दिनदेखिको रिले अनशन तोडेका छन् ।
विभिन्न ११ बुँदे माग राख्दै असार १७ गतेदेखि नगरपालिकाविरुद्ध रिले अनशन बसेका वडाध्यक्षहरुलाई प्रमुख जिल्ला अधिकारी उमेश ढकालसहित नेकपाका नेताहरु रामआधार कापर, रामदयाल मण्डललगायतले बुधबार साँझ जुस खुवाएर अनशन तोडाए ।
जलेश्वर नगरपालिकामा भइरहेको अनियमितता, गैरकानुनी कार्य र भ्रष्टाचारमा नगरप्रमुख रामशंकर मिश्र, इन्जिनियर माधवेन्द्र चौधरीप्रति लक्षित हुँदै जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह र १० का वडाध्यक्ष विकाउ दासले नगरपालिका कार्यालय परिसरमै अनशन बस्दै आएकामा बुधबार दुवै पक्षबीच सहमति भएपछि अनशन तोडिएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जलेश्वर नगरपालिकामा सरुवा भएर पनि कार्यरत् रहेका इन्जिनियर माधवेन्द्र चौधरीलाई तुरुन्त सरुवा गरिएको ठाउँमा पठाउने, सबओभरसियर मनोज साहलाई नगरपालिकामा हाजिर गराउने र बाँकी रहेका मागहरुको सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले गम्भीरतापूर्वक सम्बन्धित निकायबाट सम्बोधन गर्न गराउन पहल गर्ने सहमति भएपछि वडाध्यक्षहरुले अनशन तोडेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्