२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु


0
Shares

काठमाडौं । नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका दुई, दाङ र चितवनका एक एक जना छन् ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको हिजो दिउँसो मृत्यु भएको र साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । मृतक श्रेष्ठमा निमोनियाको समस्या थियो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका–८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

खुट्टाको जोर्नी फुस्केको समस्या लिएर आइतवार साँझ अस्पताल भर्ना भएका उनको सोमबार साँझ कोरोना पुष्टि भएको तीन घण्टापछि मृत्यु भएको हो ।

उता दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । हिजो बिहान अस्पताल भर्ना भएको उनको गएराति साढे ९ बजे मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि मात्र रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै, चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

कोभिड आइसीयु कक्षमा उपचाररत उनको हिजो राति मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।

उनमा उच्च रक्तचाप, मिर्गौला र मधुमेहकोसमेत समस्या थियो ।