१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


इलाम र पाँचथरको सीमामा पर्ने सुकेपोखरीमा पर्यटकको चहलपहल बढ्दो


0
Shares

इलाम । इलाम र पाँचथरको संगम स्थलमा पर्ने सुकेपोखरी अहिले पर्यटकको रोजाइ बनेको छ ।

फुर्सदको समयमा होस् वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा लामो दूरीको ट्रेकिङ र होमस्टे पर्ने गर्दछ ।

होमस्टेमा फरक गाउँको फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने अवसर पाइन्छ ।

लोकल कुखुुरा, खसी, बोकाको मासुदेखि सेल रोटी, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास, केराउलगायतका स्थानीय उत्पादनबाट बनेका खानाका विभिन्न परिकारको स्वाद मज्जाले लिन पाइन्छ ।

पछिल्लो समय इलाम र पाँचथरको संगम स्थलमा पर्ने सुकेपोखरी पर्यटकको रोजाइ बन्न थालेको छ । ग्रामीण पर्यटनको अवधारणा अनुरूप सुकेपोखरीमा होमस्टे सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढेको हो ।

गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूमा पनि आकर्षण बढेको छ ।

महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा पाइन्छ । होमस्टेमा बस्ने पर्यटकले एकै परिवारमा जस्तै गरी बस्ने गर्दछन् ।

सुकेपोखरीमा भरखरै होमस्टे सुरुवात भएकाले पर्यटकलाई सबै सुविधा पु¥याउन नसकिए पनि पर्यटकहरु यहाँका होमस्टेप्रति आकर्षित भएको होमस्टे सञ्चालक सन्देश राई बताउनुहुन्छ ।

चिसो मौसम र स्थानीय परिकारको स्वाद आफ्नै रोजाइमा पाउन थालेपछि पर्यटकको आकर्षण बढेको हो ।

यहाँ पुग्ने पर्यटकले लेकाली क्षेत्रको वातावरणमा रमाउनुका साथै स्थानीय परिकारको आनन्द लिँदै ट्रेकिङको भरपुर मनोरञ्जन हुने भएकाले पर्यटकको आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन् ।

सुकेपोखरीमा बेलुका बास बसेर विहान त्यहाँबाट ट्रेकिङ गर्ने हो भने चार घण्टामा इलाम नगरपालिका– १ को बागखोरसम्म निस्कन सकिन्छ ।

चार घण्टाको यात्रामा लेकाली क्षेत्रमा पाउने जडिबुटी, विभिन्न खालका वनस्पतीको अवलोकन गर्न सकिन्छ ।

सुकेपोखरी पुग्न इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजार हुँदै पाँचथरको पौवा भञ्ज्याङसम्म कालोपत्रे सडकको यात्रा गर्नुपर्छ ।

पौवा भञ्ज्याङदेखि पाँच किलोमिटर कच्ची सडकको यात्रा गरेपछि सुकेपोखरी पुग्न सकिन्छ । पौवा भञ्ज्याङबाटै पैदल हिँडने हो भने एक घण्टाको यात्रामा सुकेपोखरी पुगिन्छ ।

भौतिक पुर्वाधारको राम्रो प्रबन्ध मिलाउन सके दैनिक हजारौ पर्यटक भित्र्याउन सकिने स्थानीयको भनाइ छ । कोरोना संक्रमणको त्रासका कारण यति बेला पर्यटन क्षेत्रमा ठूलो असर पुगेको छ ।

लामो समयसम्मको बन्दाबन्दीका कारण थलिएको पर्यटन क्षेत्रमा अहिले केही हदसम्म भए पनि चहलपहल देखिन थालेको छ ।