
तनहुँ, कात्तिक २५ । तनहुँको बन्दीपुर गाउँपालिकाले चीनको ग्रेटवालको झल्को दिनेगरी ‘मिनि ग्रेटवाल’ निर्माणको काम सुरु गरेको छ ।
बन्दीपुरमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनको लागि गाउँपलिकाले मिनि ग्रेटवालको अवधारणा ल्याएको हो ।
चीनमा रहेको ग्रेटवालको जस्तै झल्को दिनेगरी बन्दीपुर गाउँपालिकाले मिनि ग्रेटवाल निर्माणको काम सुरु गरेको छ ।
बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्नका लागि मणिमुकुन्दसेन पर्खालको नाम राखेर मिनि ग्रेटवाल निर्माण सुरु गरिएको हो ।
बन्दीपुरको इतिहास बुझाउन, आर्थिकरुपमा गाउँपालिकालाई सबल बनाउन र पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले बन्दीपुरको भानु माविदेखि थानीमाई मन्दिर हुँदै मुकुन्देश्वरी मन्दिरसम्म चार किलोमिटर बाटोमा पर्खाल निर्माण गर्न लागेको हो ।
बन्दीपुर पर्यटकीय क्षेत्र रहेको र पर्यटकलाई थप बसाइँ लम्ब्याउनको लागि मिनि ग्रेटवाल निर्माण गरिएको बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले बताउनुभयो ।
चार किलोमिटर क्षेत्रमा निर्माण गरिने मिनि ग्रेटवालको काम हालसम्म ११ सय मिटर पर्खाल निर्माणको काम सम्पन्न भएको छ ।
दुई वर्षअघिदेखि निर्माण सुरु गरिएको ग्रेटवाल निर्माणमा हालसम्म ७० लाख रुपैयाँ खर्च भइसकेको छ भने यो वर्ष गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरेको छ ।
‘पहाडकी रानी’ बन्दीपुरको पर्यटकीय विकासको लागि विभिन्न पूर्वधार गाउँपालिकाले निर्माण गरेको र पूर्वधारअन्तर्गत् ‘ग्रेटवाल’समेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।
पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले पूर्वधार निर्माणलाई प्राथमिकतामा राखेको हो ।
गण्डकी प्रदेशको पोखरापछिको धेरै पर्यटक आउने ठाउँका रुपमा परिचित बन्दीपुर ‘पहाडकी रानी’को नामले पनि परिचित छ ।
गर्मीको समयमा पनि चिसो हावा चल्ने र जाडोमा पनि बिहानै घाम लाग्ने भएकाले यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
मिनि ग्रेटवाल निर्माण सम्पन्नपश्चात् आन्तरिक तथा बाह्य पर्यटकको बन्दीपुर ‘हब’ बन्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्