
काठमाडौं, कात्तिक २५ । भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशूल स्थापना हुने भएको छ ।
महाँकाल त्रिशूलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नम्बर–५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित मूलकोटगढी महाँकाल त्रिशूलडाँडामा विश्वकै अग्लो त्रिशूल स्थापना गर्न लागेको छ ।
समितिले त्रिशूलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जानकारी नगरपालिकालाई समेत गराएको छ ।
यसको कुल लागत दुई करोड ७० लाख रुपैयाँ रहेको छ ।
चागुँनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले कोरोना महामारीका कारण नगरपालिकाले मठ–मन्दिर, पाटी–पौवाभन्दा पनि स्वास्थ्य पूर्वाधार निमार्णमा जोड दिएको बताउनुभयो ।
मिश्रले कोरोनाभाइरस संक्रमणको जोखिम कम हुँदै गए त्रिशूल निर्माणका लागि नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
मूलकोटगढीमा विश्वकै अग्लो त्रिशूलबाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मूलकोटगढी द्वार, सत्तल, त्रिशूलडाँडादेखि साँखुसम्म जोड्ने सिँढीमार्गलगायत निर्माण गर्ने गुरुयोजनासमेत रहेको छ ।
त्रिशूलको शिलान्यास आउँदो मंसिर २२ गते हुनेछ भने करिब नौ महिनामा निर्माण सम्पन्न हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्