१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ रणनीतिमा विनोद चौधरी : मुलुक समृद्धिको खाका लिएर सक्रिय राजनीतिमा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय चर्चित उद्योगी विनोद चौधरी नयाँ रणनीतिका साथ अघि बढ्ने तयारीमा जुटेका छन् । उनले कांग्रेसको आगामी १४ महाधिवेशनलाई लक्षित मात्र नभइ पूर्णकालिन राजनीतिकै लागि भनेर दिगो रणनीति तयार पारेर सक्रियता बढाएका छन् ।

सांसद समेत रहेको उनले वहुराष्ट्रिय कम्पनी सीजी ग्रुपको सफलताको योजनालाई मुलुकको अर्थनीतिसँग जोडेर समृद्धिको खाका समेत तयार गरिरहेको प्रतिक्रिया दिएका छन् ।

चौधरी जब राजनीतिमा होमिए तबदेखि उनी समृद्ध र समुन्नत नेपालको परिकल्पनामा तल्लिन रहेको बताउँदै आइरहेका छन् । सीजी ग्रुपलाई जसरी सफलताको सिढीमा उकाले त्यसैगरी नेपाललाई समृद्धीको आकार दिन उनीसँग महत्वकांक्षी योजनाहरु तयार पारेको बताएका छन् । विश्वब्यापी धनाढ्यहरुको सूचीमा सूचिकृत भएको एउटा व्यवसायी किन राजनीतिको समुन्द्रमा हामफाल्यो भन्ने जिज्ञासालाई उनले अघि सारेका दिर्घकालिन नीतिबाट स्पष्ट पार्न खोजेका छन् ।

विनोद सपना पूरा गराउने दम्भ देखाउँदै सीजीलाई झैं मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने स्पष्ट म्यान्डेट आफूसँग तयार रहेको दावा गरिरहेका छन् ।

विनोद भन्ने गर्छन, ‘कुनै पनि देशको विकासका लागि राजनीति सही दिशामा चल्नुपर्छ। सबै कुरा ठीकठाक भएपनि राजनीति बिग्रियो भने देश बन्दैन। त्यसैले राजनीतिलाई जनता र समृद्धिसँग जोड्ने संकल्प लिएको छु ।’ हुनत विनोदलाई नेपाली राजनीति भित्रको व्यथिति उतिसारो ज्ञान छैन । तर व्यथितिलाई चिर्न सक्ने सामथ्र्य चाहिं आफूसँग छ भन्न छुटाउँदैनन ।

कांग्रेस पार्टी आफ्नो एउटा लक्ष्य र बाटो तय गरी आफ्नो सीजी ग्रुपझैं चल्नुपर्छ भन्ने उनी ठान्छन् । र मुलुकु पनि सोही अनुसार चलाउनुपर्छ भन्छन् । पार्टी सीजीझैं चल्यो भने देश पनि चल्छ भन्ने उनको बुझाइ छ । राजनीतिक विश्लेषकहरु भन्छन्,‘विनोदलाई राजनीतिको मुलधारमा उभ्याउन नसक्नु पार्टीहरुको दुर्भाग्य हो, उनको भिजन र मिसनलाई आत्मसात गर्न नसक्नु अहोभाग्य हो ।’ यद्यपी, विनोद यतिबेला कांग्रेसको फ्रन्टलाइनमा देखिन्छन् । उनको सक्रियताप्रति धेरैजना बेखुस रहेपनि बहुसंख्यक खुशी छन भनिन्छ ।

कांग्रेसमा के चाहन्छन विनोद ?

मुलुक संघीयतामा गइसकेपछि ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नारा खुबै घन्काइएको थियो । प्रतिनिधि सभा, राष्ट्रिय सभा, स्थानीय तहका निर्वाचनहरुपछि बहुमत प्राप्त नेकपा सरकारले लिएको बाटो र सत्ताको बाघडोर सम्हालिसकेपछि देखिएका उपलब्धीहरु अनि जनताले भोगेका दुःखहरुलाई मात्र मूल्याकंन गर्ने हो भने सत्तारुढ नेकपाको विकल्प खोजिनुपर्छ भन्ने बहस चर्किरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी कार्यशैलीको विरोध गरेपनि आफ्नै स्पष्ट भिजन भने कांग्रेसले तयार गर्न सकिरहेको छैन ।

कांग्रेस राजनीतिको अग्रभागमा देखिएका पुराना अनुहारहरुले कांग्रेसलाई चमक दिन नसकिरहेको आरोप लाग्दासमेत पार्टीले नयाँ रणनीति अवलम्बन गर्न नसक्नु ठूलो कमजोरी भएको लेखक तथा विश्लेषक नारायण पौडेलको बुझाइ छ । उनी भन्छन्, ‘नयाँ अनुहार मात्र होइन भिजन र व्यवहारिक रुपमा सक्षम अनुहार कांग्रेसका लागि आवश्यक्ता हो ।’ आगामी राष्ट्रिय निर्वाचनमा कांग्रेसले तयार गर्ने अर्थनीति र घोषणा पत्र मुलुकलाई समृद्धितर्फ डोहोर्याउने माध्यम भएकाले अर्थनीतिका लागि ब्यवसायमा सफल भिजनरी पात्रहरु खोजिनुपर्ने उनको सुझाव छ ।

एक्काइसौं शताब्दीजस्तो आधुनिक र डिजिटल युगमा राज्य, सरकार र दलका आधारभूत चरित्र र भूमिका कस्तो हुनुपर्छ भन्ने बहस हुनुपर्ने आवाज उठिरहेको छ । विश्लेषक पौडेलको विचारमा बेलायतको परिवर्तित परिवेशमा आर्थिक नीति स्पष्ट नहुँदा कुनैबेला त्यहाँको लेबर पार्टी र भारतमा कांग्रेस आइको हवीगत जस्तो देखिन्छ नेपाली कांग्रेस त्यस्तै नहोस भन्ने हामी सबैको चाहना हुनुपर्छ । त्यसैले स्पष्ट अर्थनीति र त्यसलाई कार्यान्वयनमा ल्याउने विनोद जस्ता पात्रहरुको खोजी हुनुपर्ने माग उठ्नु स्वभाविक हो ।

पार्टी नेतृत्व वा सत्ताको नेतृत्व जसले गरेपनि विनोद जस्ता ब्यक्तिको भिजनलाई पार्टीको मियोको रुपमा स्थापित गराएर मुलुकलाई समृद्धिको बाटोमा हिंडाउन सकिने आम बुझाइ छ । विनोदले कांग्रेसको १४ औं महाधिवेशनबाट आफूलाई नयाँ तहमा स्थापित पनि गराउने तयारी गरिहेको उनी निकट स्रोतले जनाएको छ । कुन र कस्तो तह भन्ने स्पष्ट नभएपनि पार्टीको महत्वपूर्ण जिम्मेवारीका साथ आफूलाई स्थापित गराउन देशब्यापी लबिङ उनले सुरु गरिसकेका छन् ।

जिम्मेवारीमा इमान्दारिता

नीति र नेतृत्व स्पष्ट भएपछि मिसन सफल बनाउन कुनै चुनौति नहुने विनोद चौधरीको अनुभव छ । कुनै समय एमालेबाट सांसद बनेर सदन छिर्दा उनले तयार पारेको अर्थनीति धेरैहदसम्म उपयोगी सावित भयो । पछि कांग्रेसभित्र बसेर उनले तयार पारेका रणनीति र जिम्मेवारीलाई सबैले ताली बजाए । जहाँ जहाँ विनोदले हात हाले त्यहाँ नयाँ तरंग ल्याइदिए ।

उनले भन्ने गरेका छन्– ‘गतिशील संगठन र वैचारिक नेतृत्व पार्टी पुनर्जीवनका अनिवार्य पूर्वसर्त हुन, त्यसैले यसमा गम्भीर होमवर्क गर्नैपर्छ ।’ उनको बुझाइमा परम्परागत राजनीतिक संस्कारलाई आधुनिक युग सुहाँउदो बनाउनुपर्छ ।

पछिल्लो समय कांग्रेसले विनोदलाई दिएको जिम्मेवारीलाई पनि लोभलाग्दो रुपमा पुरा गरिदिएका छन् । कोभिड–१९ का कारण प्रभावित लगानी, पूर्वाधार र रोजगारबारे अध्ययन गर्न चौधरीको नेतृत्वमा गठन गरेको समितिले तयार पारेको प्रतिवेदन पनि कोभिडपछि मुलुकलाई समृद्धीतर्फ डोहोर्याउने स्पष्ट खाकासहितको सुझावले कांग्रेसप्रति आम सर्वसाधारणको झुकाव बढेको बताइन्छ ।

संसदमा पनि विनोदले प्रस्तुत गरेका विचारले नेपाली अर्थतन्त्रको क्षेत्रमा नयाँ तरंग ल्याउने गरेको छ । ‘उदार अर्थतन्त्रलाई बढावा दिन सानोतिनो ओखतिमूलो नभइ ठूलै शल्यक्रिया आवश्यक’ रहेको बताउने गरेका विनोदले मुलुकको अवस्था अनुसार अर्थनीति तयार गर्नुपर्ने धारण राख्दै आइरहेका छन् ।

सिंगापुर र मलेसियाको अर्थनीतिको प्रभाव

नेपाल भित्र मात्र होइन विदेशमा रहेका नेपालीहरुको प्रश्न गर्छन–‘नेपाल किन बनेन् ?’ ‘अरु देश किन सजिलै बने ?’ यसको स्पष्ट जवाफ आधुनिक सिंगापुरका पिता लि क्वान यु को ‘फ्रम थर्ड वर्ल्ड टु फष्ट : द सिंगापुर स्टोरी’ पढ्दा छर्लङ्ग हुन्छ । यो पुस्तक उनको आत्मकथा भएपनि सिंगापुर कसरी आर्थिक समृद्धि र विकासमा सफल भयो भन्ने रोमान्चक कथा छ । त्यसैले त विश्वमा मात्र होइन नेपालको सबै तप्कामा लि क्वानको चर्चा हुन्छ ।

सन् १९६० को दशकमा हाल नेपालकै अवस्था ब्यवहोरेको सिंगापुर कसरी आजको अवस्थामा आइपुग्यो रु ‘बेष्ट सेलर’ बनेको पुस्तकभित्र स्पष्ट छ । आधुनिक युग सुहाउँदो अर्थनीति र विकासको खाका देशलाई सफल बनाउने कडी हो भन्ने कुरा पुस्तकले नै बोलेको छ ।

यसरी हेर्दा नेपालको समृद्धिमा ‘विनोद चौधरी–आत्मकथा’ एउटा माध्यम बन्नसक्छ । विनोदले पुस्तकमा आफ्नो आत्मकथा मात्र सुनाएका छैनन । सीजीलाई बहुराष्ट्रिय सफल कम्पनी कसरी बन्यो भन्ने कथालाई जोड्दै नेपालको अर्थनीति कस्तो बनाउने भन्ने बलियो मियो बनेर उभिएको पाउन सकिन्छ ।

नेपालकै जस्तो आन्तरिक कलह र द्वन्द्व ब्यहोरेको मलेसियामा स्पष्ट र प्रभावसाली अर्थनीतिका कारण महाथिर मोहमद जसरी स्थापित बने यो नेपालका लागि पाठ बन्न सक्ने तर्क पनि गरिन्छ । त्यहाँका पूर्वप्रधानमन्त्री नजिब रजाक लाखौं डलर भ्रष्टाचार गरेर सत्ताच्यूत बन्नुपरेको थियो ।

अधिनायकवादी भनिएको व्यावहारिक नीतिहरुले महाथिरको शासनकालमा मलेसियालाई एसियाको आर्थिक शक्तिका रुपमा स्थापित गर्न सफल भएको इतिहास जोडिएको छ । सिंगापुर र मलेसियाको उदाहरणलाई मात्र हेर्ने हो भने नेपालको आर्थिक समृद्धि र विकासका लागि अर्थनीति नै प्रभावकारी हुनु जरुरी रहेको बुझ्न सकिन्छ ।

यी सबै कुराहरुका लागि नेपालमा हाल अवलम्वन गरिएको नीति र देखिएको व्यवहारिकताबाट स्पष्ट हुनुपर्ने अवस्था छ । किनकी सरकारी स्वामित्वमा चलिरहेका नेपालका ठूला उद्योग तथा उद्योगग्रामहरुको धरासायी अवस्था पुगिरहँदा नवलपरासीमा रहेको सीजी उद्योगग्राम एसियाकै एक नमूना बन्नु एक गतिलो उदाहरण पनि हो ।

यतिबेला नेपालमा ५० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिरहेको सीजी ग्रुपका संस्थापक विनोदलाई राजनीतिमा पूर्णकालिन जीवन ब्यथित गर्न ब्यवहारिक चुनौति रहेपनि सैद्धान्तिक र बैचारिक रुपमा कठिनाइ नहुने विश्लेषण गर्न थालिएको छ ।

प्राध्यापक तथा अर्थविद अच्युत अर्यालको विचारमा सफल ब्यवसायिहरु सक्रिय राजनीतिमा आएर मुलुकको अवस्था र परिवेष अनुसार रणनीति बनाएर कार्यान्वयनमा सफल हुन निकै कठिन छ । ‘तर जिम्मेवारी पाएर हिम्मतका साथ फिल्डमा उत्रिएरका काम गर्नसक्नु नै उपलब्धी मान्नुपर्छ । विकासोन्मुख नेपालको परिवेशमा सोही अनुरुपको नीति बनाएर अघि बढ्दा व्यवसायमा झैं मुलुकको नेतृत्वमा सफल हुन समय लाग्दैन’, उनले भने ।