
तनहुँ । व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ ।
मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले अध्ययन शुरु गरेको हो ।
मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाहरुको अध्ययन शुरु गरेको नगरपालिकाका इन्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिनुभयो ।
नगरपालिकाले मानहुँकोटमा जग्गा एकीकरण गर्ने लक्ष्य राखेको छ । मानहुँको मौलिक चरित्रलाई यथावत राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम लागु गर्न लागिएको नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
मानहुँकोटको गुरुयोजना निर्माणका लागि नगरपालिकाले सोमबारदेखि नै जग्गा किनबेचमा रोक लगाइसकेको छ ।
धेरै पर्यटकको ध्यान अहिले मानहुँकोटमा केन्द्रित भइरहेकोले मानहुँलाई व्यवस्थित गर्न खोजिएको व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समय मानहुँकोट पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । मानहुँकोटबाट सूर्योदय र कुहिरो हेर्न यतिबेला पर्यटकको अत्यधिक भीड बढेको छ ।
असोजदेखि फागुनसम्म मानहुँकोटमा यस्तो दृश्य हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्