१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक


0
Shares

काठमाडौं, कात्तिक २६ । कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको बेला पनि सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ ।

कोरोना महामारी र लामो ‘लकडाउन’को असहज परिस्थितिमा समेत सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत् राष्ट्रिय गौरवका छसहित अरु दुई ठूला आयोजनाको काम सन्तोषजनक देखिएको निष्कर्ष मन्त्रालयले निकालेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सिँचाइका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिबारे मन्त्रालयका सचिव, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक तथा आयोजना प्रमुखसँग लगातार तीन दिनसम्म ‘भर्चुअल’ बैठक गरी आयोजनाको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

सोक्रममा जलस्रोत सचिव मधुसुदन अधिकारी, विभागका महानिर्देशक मधुकरराज राजभण्डारी र आयोजना प्रमुखले गौरवका सबै आयोजनाको अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो ।

भेरी–बबई र सुनकोशी–मरिन डाइभर्सन, सिक्टा, रानी–जमारा–कुलरिया, बबई र महाकाली सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजना हुन् ।

यस्तै, उपत्यकाको भूमिगत पानीको स्रोत तथा ‘रिचार्ज’ प्रणाली जोगाउने उद्देश्यले काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा निर्माणाधीन ढाप ड्यामको कामसमेत तीव्रगतिमा अघि बढेको छ ।

यस्तै, तत्कालीन मध्य, पश्चिम र सुदूरपश्चिम प्रदेशमा विश्व बैंकको सहयोगमा यसअघि कार्यान्वयनमा रहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना अन्यत्र पनि लागू गर्नेबारेसमेत बैठकमा छलफल भएको थियो ।

बैठकले विश्व बैंक र अर्थ मन्त्रालयसँग छलफल गरी आयोजनाको ‘मोडालिटी’ टुंगो लगाउने निर्णय गरेको छ ।

सुनकोशी–मरिन डाइभर्सनबाट एक लाख २२ हजार हेक्टर, एउटै पकड क्षेत्र रहेको भेरी–बबई डाइभर्सन र बबई सिँचाइ आयोजनाबाट ५१ हजार हेक्टर, सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार ७०० हेक्टर, महाकाली सिँचाइ आयोजनाबाट ३५ हजार हेक्टर र रानी–जमरा–कुलरियाबाट २० हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

यस्तै, भेरी–बबई डाइभर्सनबाट ४७ मेगावाट, सुनकोशी–मरिन डाइभर्सनबाट करिब ३० मेगावाट तथा रानी–जमरा–कुलरियाबाट ४.७ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

सिँचाइ र विद्युत् उत्पादनसँगै हुने भएकाले ती आयोजनालाई बहुउद्देश्यीय भनिएको हो ।

ढाप ड्याम निर्माणको काममा हालसम्म कुल ८० प्रतिशत, सिक्टामा ६० प्रतिशत, भेरी–बबईमा ४० प्रतिशत र बबईमा ४७ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

गत वर्षबाट सुरु भएको सुनकोशी–मरिन आयोजनाअन्तर्गत् रामेछाप र सिन्धुलीखन्डमा जग्गा अधिग्रहणको काम सकिएको छ । कतिपय स्थानमा मुअब्जा वितरणसमेत भएको छ ।

यस्तै, चालू आर्थिक वर्षमा मात्र राष्ट्रिय गौरवको आयोजनामा समाविष्ट भएको महाकाली सिँचाइ आयोजनाको कुलमध्ये १० प्रतिशत काम सम्पन्न भएको छ ।

ती सबै आयोजनाको काममा मन्त्री पुनले प्रत्यक्ष अनुगमन र निर्देशनका साथै समस्या समाधानका लागि संघमा अन्तरमन्त्रालय, प्रदेश र स्थानीय सरकार तथा आयोजना प्रभावित समुदायसँग समन्वयको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

बैठकमा मन्त्री पुनले आयोजना निर्माणको काममा कुनै समस्या आए तत्काल सम्बोधन गर्न र समस्या समाधान गर्न असमर्थ भए आफूलाई जानकारी गराउन निर्देशन दिनुभयो ।

‘समस्या आए पहिला आफ्नै तहबाट समाधान खोज्नोस्, सम्भव भएन भने मलाई भन्नोस् । जस्तोसुकै समस्या भएपनि राजनीतिक तहबाट तत्काल समाधान गरिन्छ ।’

तर, समस्याको बहानामा विकासका काम रोक्ने वा ढिलासुस्ती गर्ने छुट भने कसैलाई नभएको उहाँको भनाइ थियो ।

मन्त्री पुनले बजेट र जनशक्तिको अभाव भए तत्काल समस्या समाधान गरिने पनि स्पष्ट गर्नुभयो ।

कोरोना महामारीको असहज अवस्थामासमेत आयोजनाका काम लक्ष्यअनुसार अघि बढेकामा विभाग र आयोजना प्रमुखसहित सबैलाई उहाँले धन्यवाद दिनुभयो ।